बालेनको जितले जगाएको ‘आशा’

आइतबार, २४ फागुन २०८२, १२ : ०३

काठमाडौं - भावी प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेका वरिष्ठ नेता बालेन शाह झापा ५ बाट अत्यधिक मतसहित विजयी बनेका छन्।

उनले ६८,३४८ ल्याउँदा प्रतिस्पर्धी रहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८,७३४ मत ल्याएका छन्।

योसँगै अहिलेसम्म सर्वाधिक मत ल्याउने उम्मेदवार पनि ३६ वर्षे शाह नै बनेका छन्।

यसअघिको स्थानीय तहको चुनावमा काठमाण्डूबाट स्वतन्त्र उम्मेदवारका रूपमा मेअर निर्वाचित भएका उनी गत पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए।

अहिलेसम्म निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ बहुमतनजिक पुग्ने देखिएको छ।

देशैभरि देखिएको रास्वपाको यो जितको लहरमा बलियो कारण ‘बालेन फ्याक्टर’ रहेको धेरै विज्ञहरू बताउँछन्।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पटकपटक जितेको झापा क्षेत्र नम्बर ५ मा उनको प्रतिस्पर्धीका रूपमा बालेन साहले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसले धेरैलाई चकित पारेको थियो।

ओलीको बलियो पकड रहेको क्षेत्रमा भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिएका बालेनको हार हुन सक्ने अनुमान गरिएका विवरणसमेत आएका थिए।

भदौ २३ को जेन जी आन्दोलनकी एक अभियानकर्मी रक्षा बम अहिलेसम्मको मतले आफूहरूलाई आशावादी बनाएको बताएकी छन्। तर त्योसँगै संसद्‌मा बलियो उपस्थिति जनाउने उक्त दलले अल्पमतको कदर नगर्ने वा सडकका आवाज नसुन्ने गर्छ कि भन्ने संशय रहेको उनले बताएकी छन्।

‘हामी त एकदमै आशावादी छौँ। अन्य दलहरूसँग जनता निराश छन् भन्ने त जेन जी आन्दोलनकै बेलामा देखिएको थियो। यो सरकारले अल्पमतमा रहेका र सडकमा उठ्ने आवाज सुनोस् भन्ने लाग्छ,’ बमले भनिन्।

‘हामीले उठाउँदै आएका भ्रष्टाचार अन्त्य र सुशासनका मुद्दालाई जनादेशले आमजनताका मुद्दा हुन् भन्ने देखाएको छ। यी मुद्दालाई उचित रूपमा उहाँहरूले सम्बोधन गर्नुहुन्छ भन्ने आशा जागेको छ।’

आइतबार, २४ फागुन २०८२, १२ : ०३

प्रतिक्रिया