काठमाडौं– प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइ बहुमतसहित सरकार बनाउने स्पष्ट संकेत देखिएपछि शेयर बजारमा तीव्र उत्साह देखिएको छ। स्थिर सरकार र नीतिगत स्थायित्वको अपेक्षाले लगानीकर्ताहरू बजारतर्फ आक्रामक रूपमा आकर्षित हुँदा सोमबार खुलेको बजारमा लगातार तीन पटक सर्किट ब्रेकर लागेको हो।
बजार खुलेको केही क्षणमै खरीद चाप बढेपछि नेप्से ४ प्रतिशतले उकालो लाग्दै पहिलो सर्किट लाग्यो र कारोबार २० मिनेटका लागि रोकियो। पुनः खुलेको बजारमा पनि उही उत्साह कायम रहँदा एक मिनेटमै सूचक ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट लाग्दै ४० मिनेटका लागि कारोबार स्थगित गरियो।
त्यसपछि खुलेको बजारमा पनि खरीद चाप घटेन। अर्को एक मिनेटमै सूचक थप १ प्रतिशत बढेर कुल ६ प्रतिशत पुगेपछि तेस्रो सर्किट लाग्दै आजका लागि कारोबार पूर्ण रूपमा बन्द गरिएको हो।
सोमबार नेप्से परिसूचक १६२ दशमलव ९३ अंकले बढेर २८७५ दशमलव ४३ विन्दुमा पुगेको छ। २५३ कम्पनीको शेयर कारोबार भएको दिन करिब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
लगानीकर्ताहरूका अनुसार रास्वपाको स्पष्ट बहुमतले स्थिर सरकार बन्ने सम्भावना बढेको, आर्थिक सुधार र पूँजी बजारलाई प्राथमिकता दिने अपेक्षाले बजारमा सकारात्मक मनोविज्ञान सिर्जना गरेको हो। विश्लेषकहरूले बजारमा देखिएको यो उछालले आगामी दिनमा नेप्सेले नयाँ उचाइ छोने संकेत गरेको बताएका छन्।
प्रतिक्रिया