काठमाडौं- स्नो रिभर्स लिमिटेडको आईपीओको आवेदन खुला चैत १२ गतेदेखि हुने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्न लागको हो ।
कम्पनीले आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये पनि आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरिजङ्गाँ गाउँपालिकाको वडा नम्बर ८ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता र सोही गाउँपालिकाको वडा नम्बर १ देखि ७, सिदिङ्वा गाउँपालिकाको वडा नम्बर ५ र ६, पाथीभरा याङवारक गाउँपालिकाको वडा नम्बर ५ र ६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नम्बर १ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ ।
आयोजना प्रभावित स्थानीय बासिन्दाले न्यूनतम १० कित्ताका लागि र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्ताका लागि र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
प्रतिक्रिया