सेयर बजार

साताको पहिलो दिन ४.४५ अंकले बढ्यो सेयर बजार, १४ अर्ब ३२ करोडको कारोबार

आइतबार, ०१ चैत्र २०८२, १५ : २४

काठमाडौं- साताको पहिलो दिन आइतबार सेयर बजार सामान्य रूपमा उकालो लागेको छ।

नेप्से परिसूचक ४.४५ अंकले बढ्दै २८२४ अंकमा पुगेर बन्द भएको छ। दिनभर बजारमा सामान्य उतारचढाव देखिए पनि कारोबार रकम भने उच्च नै रह्यो।

अघिल्लो कारोबार दिन १४ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

आज १२४ कम्पनीको सेयर मूल्य बढ्दा १३० कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत सूचकतर्फ व्यापार समूह सबैभन्दा धेरै २.८३ प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.७४, फाइनान्स ०.२२, हाइड्रोपावर ०.०६, उत्पादन तथा प्रशोधन ०.१२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१६ तथा अन्य समूह ०.०३ प्रतिशतले उकालो लागेका छन्।

यता लगानी समूह ०.५४ प्रतिशतले घट्दा होटल तथा पर्यटन ०.६२ प्रतिशत र जीवन बीमा समूह ०.४६ प्रतिशतले घटेका छन्।

आज चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ। १० प्रतिशत बढ्ने कम्पनीमा सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन रहेका छन्। सोलु हाइड्रोपावरको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हो।

त्यसैगरी ग्रिनलाइफ हाइड्रोपावरको सेयर मूल्य ९.५३ प्रतिशत तथा अभियान लघुवित्तको ५.३१ प्रतिशतले बढेको छ।

घट्ने कम्पनीतर्फ दरामखोला हाइड्रो इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। साथै खानीखोला हाइड्रोपावरको ५.१८ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ३.३५ प्रतिशत र हिमस्टार ऊर्जाको ३.३० प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा आइतबार ग्रिनलाइफ हाइड्रोपावर, रिडी पावर, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र राधि विद्युत् अगाडि रहेका छन्।

 
आइतबार, ०१ चैत्र २०८२, १५ : २४

प्रतिक्रिया