काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र नेतृत्व परिवर्तनको आवाज झन् चर्किँदै गएको छ। विशेषगरी युवा पुस्ताका नेताहरूले अहिलेको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने माग अघि सारेका छन्।
बिहीबार पेरिसडाँडामा सम्पन्न जनवर्गीय संगठनहरूको बैठकमा अखिल (क्रान्तिकारी)का उपाध्यक्ष विराज थापाले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राजीनामाको माग खुला रूपमा राखे। उनले वर्तमान नेतृत्व कायम रहिरहेसम्म पार्टीले अपेक्षित गति लिन नसक्ने तर्क गरे।
थापाले प्रचण्डलाई सक्रिय नेतृत्वबाट अलग भएर राष्ट्रका अभिभावकको भूमिकामा जान सुझाव दिएका थिए। उनका अनुसार सानो घेरामा सीमित भएर ऊर्जा खर्च गर्नु भन्दा समग्र देशको मार्गदर्शन गर्ने भूमिकामा जानु उपयुक्त हुने समय आएको छ।
यस्तै, उनले चाँडै महाधिवेशनको मिति घोषणा गरी तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग पनि दोहोर्याए। नेतृत्व परिवर्तनले मात्र पार्टीलाई पुनः सशक्त, गतिशील र जनमुखी बनाउन सकिने उनको विश्वास छ।
यस घटनाले नेकपा भित्र पुस्तान्तरण, नेतृत्व पुनर्संरचना र नयाँ दिशाबारे बहस अझ गहिरिने संकेत देखिएको छ।
प्रतिक्रिया