काठमाडौं– काठमाडौं उपत्यकामा प्रचण्ड निकट रहेर पार्टी र जनसंगठनमा प्रभाव जमाउँदै आएका साविक माओवादी केन्द्रका युवा नेताहरूको निर्वाचन परिणाम अनपेक्षित देखिएको छ । विभिन्न निर्वाचन क्षेत्रहरूमा उनीहरूले प्रतिस्पर्धी भन्दा निकै कम लज्जास्पद मतपरिणाम हात लागेको छ ।
काठमाडौं–६ मा काठमाडौं जिल्लाका इञ्चार्ज, अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तथा हाल इञ्चार्ज हिमाल शर्मा हजार मतको वरपर मात्र प्राप्त गर्दै पाँचौं स्थानमा सीमित भए । उनको मत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भन्दा पनि कम देखिएको छ ।
यस्तै, वाईसीएलका पूर्व अध्यक्ष तथा हाल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पनि भक्तपुर–२ मा हजार मत हाराहारी ल्याउँदै पाँचौं स्थानमा चित्त बुझाउनुपरेको छ । उनी प्रचण्डका किचन क्याबिनेट तथा सुरक्षा संयन्त्रसँग जोडिएका व्यक्तित्वका रूपमा चिनिन्छन् ।
उपत्यकाका रैथाने नेताहरूले भने तुलनात्मक रूपमा राम्रो प्रदर्शन देखाएका छन् । काठमाडौं–८ मा सुमन सायमीले निर्वाचनमा दोस्रो स्थान हासिल गरे भने काठमाडौं–७ मा बसन्तप्रसाद मानन्धर तेस्रो स्थानमा रहँदै एमालेभन्दा बढी मत ल्याएर आफ्नो सम्मानजनक उपस्थिति देखाए । त्यस्तै, काठमाडौं १० बाट रैथाने रूपा महर्जन र ललितपुर ३ बाट राजकाजी महर्जनले पनि सम्मानजनक मत प्राप्त गरे । राजकाजीले त उपत्यकाभरिमै साविक माओवादी, हालका नेपाली कम्युनिष्टमा सबैभन्दा बढी छ हजारभन्दा बढी मत ल्याए ।
तर, अन्य क्षेत्रहरूमा माओवादी उम्मेदवारहरूको अवस्था कमजोर देखिएको छ । काठमाडौ १ मा मेनुका भण्डारी सातौं स्थानमा सीमित रहिन्, जहाँ उनले गठन गरेको ५०१ परिचालन कमिटीको तुलनामा करिब तीन सय मत मात्र प्राप्त गरिन् । काठमाडौं–२ मा नितेश पौडेल करिब दुई हजार मत ल्याउँदै पाँचौं स्थानमा रहे भने निरज लामा र इन्द्र कुमार भुसाल क्रमशः करिब पाँच सय र छ सय मतसहित छैटौं र सातौं स्थानमा सीमित भए ।
काठमाडौं–५ मा पनि माओवादी उम्मेदवारको मत करिब पाँच सयको हाराहारीमा सीमित रहँदै सातौं स्थानमा झरेको छ, जुन नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सरह देखिएको छ । दुवै पार्टीको बराबर मत आएको छ । ललितपुर १ मा सुनिल महर्जन चौथो स्थानमा रहँदै करिब दुई हजार मत ल्याए भने ललितपुर २ मा राजेन्द्र महर्जन छैटौं स्थानमा रहे । भक्तपुर–१ मा हरिराम लबजु करिब एक हजार मत प्राप्त गरे ।
समग्रमा हेर्दा, २०६४ सालको संविधानसभा निर्वाचनमा उपत्यकामा राम्रो प्रभाव जमाएको माओवादीले क्रमशः आफ्नो आधार गुमाउँदै गएको स्पष्ट देखिन्छ ।
विश्लेषकहरूका अनुसार स्थानीय रैथाने नेतृत्वलाई सुदृढ बनाउनुको सट्टा केन्द्रीय नेतृत्व नजिकका समूहहरूले स्रोतसाधनमा नियन्त्रण गर्दै आएकाले जनाधार कमजोर भएको हो ।
काठमाडौ जिल्ला इञ्चार्ज हिमाल शर्मालाई उनी र पार्टीको लज्जाजनक पराजयबारे सोध्दा उनले राष्ट्रिय माहौलको प्रभावले न्यून मतपरिणाम आएको बताउँछन् । वाहिरबाट नेतृत्व थोपर्दा स्थानीय नेताहरू स्थापित हुन नसकेकाबारेमा उनी स्वीकार्न तयार छैनन् र भन्छन, ‘रास्वपाबाट विजयी भएकाहरू पनि उपत्यका बाहिरकै रहेकाले रैथाने उम्मेदवार हुनु र नहुनुले खासै फरक पारेन । नेकपाको दलगत भोट आएको छ । हामी यसमै सन्तुष्ट छौं ।’
उनी अगाडि भन्छन, ‘निर्वाचनको मत परिणाम स्विकारेर गम्भीर समीक्षा गर्दै अघि बढ्छौं । यसको जिम्मा सबै पार्टीपंक्तिले लिनुपर्छ ।’
रामप्रसाद सापकोटा दीपशिखाको धारणा पनि उनीसँगै मिल्दोजुल्दो नै छ । उनी पनि देशव्यापी माहौलको प्रभाव उपत्यकामा परेको बताउँदै त्यसकै उपज न्यून मतपरिणाम आएको बताउँछन् । उनी भन्छन, ‘मुख्यरुपमा देशव्यापीको उभारको प्रभाव उपत्यकामा पनि परेको हो । अर्को, उपत्यकाका मतदातालाई हाम्रो एजेण्डामा सहमत गराउन सकेनौं, जनतामाझ भौतिक रुपमा उपस्थित भए पनि कन्भिक्स गर्न असक्षम भयौं । यसपालि उम्मेदवारको योग्यता, क्षमता, राजनीतिक पृष्ठभूमि र योगदानभन्दा पनि रास्वपाको उभारले सबैलाई कमजोर बनाएको हो । यसको आन्तरिक समीक्षा गर्दै रुपान्तरित भएर अघि बढ्छौं ।’
यसरी उपत्यकामा माओवादी केन्द्रका युवा नेताहरूको कमजोर प्रदर्शन र रैथाने नेतृत्वको अपेक्षित विश्वास देखिएकाले आगामी दिनमा पार्टीको कार्यविभाजन तदनुरूप मिलाइन्छ या पार्टीका निकटलाई नै प्रचण्डले जिम्मेवारीमा निरन्तरता दिन्छन ? भन्ने पार्टीपंक्तिमा चासो बढेको छ ।
प्रतिक्रिया