यसरी घिसारिए प्रचण्ड चुनावमा

आइतबार, ०८ चैत्र २०८२, २१ : ३५

काठमाडौं-  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक पुष्पकमल दाहाल प्रचण्ड भर्खरै सम्पन्न निर्वाचनमा आफू अनुकूल परिणाम नआउने पूर्वानुमान हुँदाहुँदै पनि बाध्यतावश चुनावमा होमिएको दाबी गरिएको छ । विश्वस्त स्रोतका अनुसार, उनले फागुन २१ को निर्वाचनमा केपी शर्मा ओली नेतृत्वको एमालेसँग तालमेलको गृहकार्य गरिरहेका बेला बाह्य शक्तिको दबाबपछि एक्लै चुनाव लड्न बाध्य भएका थिए ।

स्रोतका अनुसार, भारत भ्रमणमा जानुअघि प्रचण्डले ओलीसँग आफ्नै घरबेटी तथा विवादास्पद ठेकेदार शारदा अधिकारीको निवासमा भेटवार्ता गरेका थिए । उक्त भेटमा चुनावी सहकार्यको अन्तिम तयारी भएको बताइन्छ । तर, भारत भ्रमणपछि उनी एकाएक आफ्नो अडान परिवर्तन गर्दै एक्लै चुनाव लड्ने निर्णयमा पुगेका हुन् ।

भारत भ्रमणका क्रममा त्यहाँका सत्तापक्षीय नेताहरूसँगको भेटमा वाम सहकार्य नगर्न दबाब दिइएको उनले पार्टी सचिवालयलाई जानकारी दिएका थिए ।

पछि वातावरण बिग्रदै गएपछि प्रचण्ड ओली निकट पुगे । निर्वाचन भाँडिने हाे भने ‘सुन प्रकरण’ अघि बढाएर नन्दकिशाेर पुन, गंगा दाहाल र अर्थ मन्त्रालयका सहसचिव, प्रचण्ड प्रम हुँदाका निजी सचिव नवराज ढुंगानालाई कारबाही गर्ने चेतावनी सरकारले दिएको दाबी स्रोतले गरेको छ । नेपाली काँग्रेसका तत्कालीन सांसद सुनिल शर्मादेखि विभिन्न मिडियाले सुन प्रकरणमा यिनीहरूकाे हात रहेकाे बताएका थिए ।

उता, शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेससँग पनि एमाले अध्यक्ष ओलीले सहकार्यको प्रस्ताव अघि बढाएका थिए । देउवा सहमत भए पनि, गगन थापा पक्षले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व सम्हालेपछि कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको उल्लेख छ । 

स्रोतका अनुसार, प्रचण्ड र गगनलाई एक्लै चुनाव लड्न उक्साउने शक्तिहरू फरक–फरक थिए । गगनलाई पश्चिमा शक्तिले प्रेरित गरेको र प्रचण्डलाई भारतीय पक्षको दबाबले निर्णय बदल्न बाध्य बनाएको दाबी गरिएको छ ।

यसैबीच, सुन प्रकरण तथा शिविर घोटाला जस्ता मुद्दामा पुनः तानिन सकिने आशंकाले प्रचण्ड आगामी सरकार गठन प्रक्रियामा गृहमन्त्री आफू अनुकूल बनाउने प्रयासमा रहेको स्रोतको भनाइ छ । उनले एक राष्ट्रिय दैनिक पत्रिकाका मालिकमार्फत रवि लामिछानेलाई गृहमन्त्री पद नछाड्न उकासिरहेकाे आरोप समेत लगाइएको छ ।

रास्वपाको सरकारमा बालेन्द्र शाह निकट व्यक्ति गृहमन्त्री बने आफू कानुनी घेरामा पर्न सक्ने भय प्रचण्डमा देखिन्छ ।

 
आइतबार, ०८ चैत्र २०८२, २१ : ३५

प्रतिक्रिया