काठमाडौं– बाँसुरी वादन तथा निर्माणमा रुचि राख्नेहरूका लागि भक्तपुरमा विशेष कार्यशाला आयोजना हुने भएको छ। ‘हङ्ग्री म्युजिसियन टेरेस’ र ‘साउन्डबज अडियो ल्याब’को सहकार्यमा चैत १७ गते मंगलबार उक्त कार्यशाला सञ्चालन हुन लागेको हो।
भक्तपुरको सुकुलढोकास्थित साउन्डबज अडियो ल्याबमा दिउँसो १:०० बजेदेखि सुरु हुने यस कार्यशालामा सहभागीहरूलाई बाँसुरी निर्माणका विभिन्न विधि र आवश्यक सैद्धान्तिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यशालाका प्रमुख आकर्षणहरूमा बाँस र पीभीसी (PVC) पाइप प्रयोग गरी बाँसुरी बनाउने तरिका, बाँसुरीको स्वर मिलाउने (ट्युनिङ) प्रक्रिया, तथा हावाबाट बज्ने वाद्ययन्त्रका आधारभूत सिद्धान्तहरूको जानकारी समावेश रहनेछ।
यस कार्यशालामा मुख्य प्रशिक्षकका रूपमा चर्चित नेपाली बहुवाद्यवादक अमन माली रहनेछन्। शास्त्रीय, लोक तथा ज्याज फ्युजन संगीतमा दखल राख्ने माली ‘द ख्वप ब्यान्ड’ र गायक कुमार सागरसँगको सहकार्यका लागि परिचित छन्। परम्परागत संगीतलाई समकालीन धुनसँग संयोजन गर्ने उनको सीप विशेष रूपमा प्रशंसित छ।
आयोजकका अनुसार कार्यशालामा सहभागी हुन प्रति व्यक्ति १,५०० रुपैयाँ पञ्जीकरण शुल्क तोकिएको छ। कार्यक्रममा सहभागी हुन इच्छुकले थप जानकारी तथा नाम दर्ताका लागि ९८४३३१७७५८ मा सम्पर्क गर्न सक्नेछन्।
प्रतिक्रिया