काठमाडौं- कालिन्चोक हाइड्रोपावर लिमिटेडले आगामी चैत २२ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।
कम्पनीले आफ्नो कुल ५५ करोड रुपैयाँ जारी पुँजीको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोही योजनाअनुसार यसअघि नै स्थानीयका लागि ५ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ८२ हजार ५०० कित्ता सेयर वितरण भइसकेको छ।
दोस्रो चरणको निष्कासनमा कम्पनीले कुल ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ। यसअघि नै सामूहिक लगानी कोषका लागि ४१ हजार २५० कित्ता र कर्मचारीहरूका लागि १६ हजार ५०० कित्ता सेयर सुरक्षित गरिएको छ। सर्वसाधारणले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताहरूले छिटोमा चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा मागअनुसार आवेदन नपरेको खण्डमा भने बिक्री अवधि आगामी वैशाख ६ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।
कालिन्चोक हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा आरबीबी (RBB) मर्चेन्ट बैंकिङ रहेको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा (ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट सी–आस्बा प्रणालीमार्फत सहजै आवेदन दिन सक्नेछन्।
यसका साथै सीडीएस एण्ड क्लियरिङ लिमिटेडको अनलाइन सफ्टवेयर तथा मोबाइल एप ‘मेरो सेयर’(MeroShare) प्रयोग गरी घरमै बसेर पनि आवेदन बुझाउन सकिने व्यवस्था मिलाइएको छ।
प्रतिक्रिया