काठमाडौं- एपोलो हाइड्रोपावर लिमिटेडले आगामी चैत २६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि खुला गर्न लागेको हो।
कम्पनीले कुल ५७ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये स्थानीयका लागि ४ लाख ७० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९४ हजार कित्ता, सामूहिक लगानी कोषका लागि ३७ हजार कित्ता र कर्मचारीका लागि १८ हजार ८०० कित्ता शेयर यसअघि नै बाँडफाँट भइसकेको छ।
अब सर्वसाधारणका लागि भने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर निष्काशन हुनेछ। यस आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा चैत ३० गते र ढिलोमा २०८३ वैशाख १० गतेसम्म बन्द हुने तालिका रहेको छ।
केयर रेटिङ्ग नेपालले यस निष्काशनका लागि कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ। हिमालयन क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस आईपीओमा लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र 'मेरो शेयर' अनलाइनमार्फत सहजै आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया