हङ्ग्री म्युजिसियन टेरसमा बाँसुरी निर्माण कार्यशाला सम्पन्न

बुधबार, १८ चैत्र २०८२, १४ : ०५

काठमाडौं- उपत्यकाको नेवारी समुदायमा प्रचलित बाँसुरीको परम्परालाई आधुनिकतासँग जोड्दै ‘हङ्ग्री म्युजिसियन टेरेस’मा बाँसुरी निर्माण कार्यशाला भव्य रूपमा सम्पन्न भएको छ। साउन्डबज अडियो ल्याब र नेपाल इको प्यानलको संयुक्त आयोजनामा भएको यस कार्यक्रमले रैथाने शिल्प र आधुनिक सामग्रीको संयोजनलाई मुख्य जोड दिएको छ।

कार्यक्रममा बोल्दै नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले भक्तपुरको दीर्घकालीन पर्यटनका लागि यस्ता सांस्कृतिक कार्यक्रमहरू निकै सहयोगी हुने विचार व्यक्त गरे। भक्तपुरको विकासको मुख्य आधार नै पर्यटन भएकाले मौलिक कला र परम्परा जोगाउने यस्ता गतिविधिहरूलाई अझ बढावा दिनुपर्ने खाँचो उनले औँल्याए।

साउन्डबज अडियो ल्याबका संस्थापक चन्दन ताम्रकारले कार्यशालाको आवश्यकतामाथि प्रकाश पार्दै परम्परागत काठको बाँसुरीको ठाउँ अचेल पिभिसी (PVC) पाइपबाट बनेका बाँसुरीले लिँदै गएको बताए। परम्परालाई जीवित राख्न वाद्यवादन बनाउने कलाकारहरूको ठूलो भूमिका हुने उल्लेख गर्दै उनले  भारतबाट आयात हुने बाँसुरीमा निर्भर हुनुभन्दा आफ्नै युवाहरूलाई दक्ष बनाएर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए। पिभिसी पाइपको नयाँ टोन अब व्यावसायिक रूपमा स्थापित हुँदै गएकाले यसले नेवारी संस्कृतिलाई विश्वव्यापी रूपमा फैलाउन र दिगो पर्यटनमा टेवा पुऱ्याउन मद्दत गर्ने उनको विश्वास छ।

कार्यशालाको मुख्य प्रशिक्षण प्रख्यात बहु–वाद्यवादक तथा बाँसुरी शिल्पमा माहिर अमन मालीले गरेका थिए। शास्त्रीय, लोक र ज्याज फ्युजन संगीतमा विशेष पहिचान बनाएका मालीले कार्यशालामा बाँसुरी निर्माणका प्राविधिक तरिकाहरू, सही स्वर र ताल मिलाउने ट्युनिङ विधि, बाँस र पिभिसी पाइपबाट बाँसुरी बनाउने प्रविधि तथा ध्वनिको विज्ञानका बारेमा प्रशिक्षण दिएका थियो।

उक्त कार्यशालामा कुमा सागर एन्ड द ख्वप ब्यान्डका सदस्यहरू सहित सुमन गैडा, अमन बज्राचार्य र उजन शाक्य जस्ता युवा बाँसुरी वादकहरूको उत्साहजनक सहभागिता रहेको थियो। ‘ज्ञान एक्लै राख्नका लागि होइन, बाँड्नका लागि हो’ भन्ने मूल सन्देशका साथ सम्पन्न यस कार्यशालाले नेपालमा नयाँ पुस्ताका बाँसुरी निर्माताहरू जन्माउन र मौलिक बाजाको भविष्य सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकले अपेक्षा गरेका छन्।

 
 
बुधबार, १८ चैत्र २०८२, १४ : ०५

प्रतिक्रिया