उज्ज्वल थापाको जीवनमा आधारित ‘दिमाग घोच्ने मान्छे’ वृत्तचित्र अब विश्वभर अनलाइनमा उपलब्ध

विहीबार, १९ चैत्र २०८२, १२ : ५८
 

काठमाडौं-  नेपालका दूरदर्शी चिन्तक तथा राजनीतिक सुधारक स्वर्गीय उज्ज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतीक्षित वृत्तचित्र “दिमाग घोच्ने मान्छे” अब विश्वभर डिजिटल रूपमा हेर्न सकिने भएको छ। Documentary Guild (DGO) (डीजीओ) ओटीटी प्लेटफर्ममार्फत उक्त वृत्तचित्र सार्वजनिक गरिएको हो।

यस वृत्तचित्रको डिजिटल प्रदर्शनसँगै मुख्य कार्यकारी निर्माता उज्ज्वल थापा फाउन्डेसनले यस पहललाई निरन्तरता दिने घोषणा गरेको छ। फाउन्डेसनले उज्ज्वल थापाको सोच, विचार र अभियानलाई समाज तथा नागरिक अभियन्ताहरूमा प्रेरणाको स्रोतका रूपमा फैलाउने उद्देश्य राखेको जनाएको छ।

दिमाग घोच्ने मान्छे” ले उज्ज्वल थापाको बाल्यकाल, अमेरिका बसाइका क्रममा प्राप्त शिक्षा, र नेपाल फर्किएपछि उद्यमशीलता तथा राजनीतिक सुधारका क्षेत्रमा गरेको योगदानलाई समेटेको छ। वृत्तचित्रमा उनका सहकर्मी, साथीभाइ र परिवारका सदस्यहरूको अनुभव तथा दृष्टिकोणमार्फत उनको जीवन संघर्ष र सोचलाई चित्रण गरिएको छ।

निर्माताहरूका अनुसार यो वृत्तचित्र केवल एक व्यक्तिको जीवनी मात्र नभई समृद्ध नेपाल निर्माणको सपना देख्ने सम्पूर्ण नेपालीहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ। साथै, समाजप्रति जिम्मेवारी बोध गराउँदै परिवर्तनका लागि सक्रिय हुन दर्शकलाई प्रेरित गर्ने उद्देश्य पनि रहेको जनाइएको छ।

वृत्तचित्र हेर्नका लागि Documentary Guild (DGO) एप प्रयोग गर्न सकिनेछ, जहाँ विभिन्न क्षेत्रअनुसार शुल्क निर्धारण गरिएको छ। नेपालमा यसको शुल्क रु. १९९ तोकिएको छ भने अमेरिका र अष्ट्रेलियामा ४.९९ डलर र अन्य देशहरूमा २.९९ डलर निर्धारण गरिएको छ।

उज्ज्वल थापाको विचार र अभियानलाई जीवित राख्ने उद्देश्यले स्थापना गरिएको उज्ज्वल थापा फाउन्डेसनले युवा नेतृत्व विकास, वैकल्पिक राजनीति र नागरिक सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। यस वृत्तचित्रमार्फत उनका विचारहरू अझ व्यापक रूपमा फैलिने अपेक्षा गरिएको छ।

 
 
 
विहीबार, १९ चैत्र २०८२, १२ : ५८

प्रतिक्रिया