हिलटप हिल्स रिसोर्टद्वारा साधारण शेयर निष्कासनको तयारी, लक्ष्मी सनराइज क्यापिटल नियुक्त

शुक्रबार, २० चैत्र २०८२, १६ : ३९

काठमाडौं- हिलटप हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले उक्त निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाएको छ। यस सम्बन्धमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको छ, जसअनुसार क्यापिटलले शेयर निष्कासन प्रक्रियालाई व्यवस्थापन गर्नेछ।

कम्पनीका अनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता साधारण शेयर निष्कासन गरिनेछ, जसको कुल रकम ४० करोड रुपैयाँ बराबर हुनेछ। यसका लागि हिलटप हिल्स रिसोर्टका तर्फबाट अध्यक्ष ई. दीप विक्रम विष्ट तथा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

काठमाडौँको नयाँ बानेश्वरस्थित कार्यालयमा सम्पन्न उक्त सम्झौतासँगै कम्पनीले निकट भविष्यमा सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण वातावरणमा सञ्चालनमा रहेको हिलटप हिल्स रिसोर्टमा १०० भन्दा बढी आकर्षक कक्ष, विभिन्न संरचना तथा मनोरञ्जनात्मक सुविधाहरू रहेका छन्। रिसोर्टमा करिब १५० देखि २०० जनासम्मका लागि कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

 
 
शुक्रबार, २० चैत्र २०८२, १६ : ३९

प्रतिक्रिया