काठमाडौं- स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत ९ गतेदेखि खुला गरेको आईपीओमा आज चैत २३ गतेसम्म मात्र आवेदन दिन सकिने व्यवस्था गरिएको हो।
कम्पनीले आफ्नो जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबरको १८ करोड ७५ लाख रुपैयाँ मूल्यको आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। सो अनुसार कुल १८ लाख ७५ हजार कित्ता साधारण शेयर जारी गरिनेछ।
यस मध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरिएको हो। उक्त शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ।
योग्य स्थानीय बासिन्दाले तोकिएको समयभित्र आवेदन नदिएमा बाँकी शेयर अन्य सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया