काठमाडौँ- सोपान फर्मास्यूटिकल्स ले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको आईपीओको मिति परिवर्तन गरेको छ। यसअघि बैशाख २ गतेदेखि निष्काशन गर्ने तयारी रहेको कम्पनीले अब भने बैशाख ३ गतेदेखि आईपीओ खुला गर्ने जनाएको छ।
कम्पनीका अनुसार गृह मन्त्रालय को सूचनाअनुसार सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा शनिबार र आइतबार बिदा हुने भएकाले निष्काशन मिति सारिएको हो।
कम्पनीले १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट गरिसकिएको छ।
त्यसैगरी १ लाख ७१ हजार ६०० कित्ता सेयर कर्मचारीहरूका लागि र २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई छुट्याइसकिएको छ। अब दोस्रो चरणमा बाँकी ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम मिति बैशाख ८ गतेसम्म तोकिएको छ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि बैशाख १७ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया