काठमाडौं- कालिन्चोक हाइड्रोपावर लिमिटेड ले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत २५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले चैत २२ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरिएको हो।
कम्पनीले ५५ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ लाख ५० हजार कित्ता सेयर स्थानीय बासिन्दा र ८२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट भइसकेको छ।
हाल कम्पनीले ४१ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित राखी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिरहेको छ। उक्त सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओका लागि केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको छ भने विद्युत उत्पादन अनुमतिपत्र अवधि २९ वर्ष ५ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष र डिस्काउण्टेड पेकोब्याक अवधि १५.३६ वर्ष रहेको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
प्रतिक्रिया