काठमाडौं- सानिगाड हाइड्रो लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत २५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले चैत ८ गतेदेखि उक्त आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो।
कम्पनीले निष्काशन अवधि २०८३ बैशाख ७ गतेसम्म लम्ब्याएको भए पनि मागभन्दा बढी आवेदन परेकाले आज बैंकिङ समयपछि आईपीओ बन्द गर्ने जनाएको छ।
कम्पनीले २ अर्ब ८५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको हो।
उक्त सेयरमध्ये १८ लाख ५२ हजार ५०० कित्ता सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाअन्तर्गत बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दामा बाँडफाँट गरिनेछ भने बाँकी ९ लाख ९७ हजार ५०० कित्ता वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दामा वितरण गरिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओका लागि इक्रा नेपाल ले कम्पनीलाई ‘इक्रएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया