वर्षान्त

स्मरणमा २०८२ : आशा, अस्थिरता र नयाँ सम्भावना

मंगलबार, ०१ बैशाख २०८३, १२ : २६

हरेक नयाँ दिनसँगै नयाँ अपेक्षा र आशा जागृत हुनु स्वाभाविक हो। विहानीले दिनको संकेत गर्छ भनेझैं, २०८२ साल मेरो लागि विशेष रूपमा तीर्थाटन वर्षका रूपमा रह्यो। यस वर्ष मैले नेपालका विभिन्न धार्मिक स्थलहरू भ्रमण गर्ने अवसर पाएँ भने छिमेकी मुलुक भारतका मध्यप्रदेशस्थित बागेश्वर धाम, उत्तर प्रदेशका चित्रकुट, प्रयागराज, वाराणसी र अयोध्या लगायतका पवित्र तीर्थस्थलहरूमा दर्शन तथा पूजा–अर्चना गर्ने सौभाग्य पनि प्राप्त भयो। त्यसैगरी, नेपालका दैलेख, सुर्खेत र सल्यानका विभिन्न मठमन्दिरहरूमा पनि दर्शन गर्ने अवसर मिल्यो।

धार्मिक यात्रासँगै २०८२ साल राजनीतिक उतारचढावले भरिएको वर्षका रूपमा पनि बित्यो। यस वर्ष युवा पुस्ताले पुराना राजनीतिक शक्तिहरूलाई मात्र चुनौती दिएनन्, बरु लामो समयदेखि स्थापित राजनीतिक विरासतलाई नै  भत्काई दिए । युवाकै नेतृत्वमा नयाँ सरकार गठन हुनु यस वर्षको महत्वपूर्ण राजनीतिक उपलब्धि मान्न सकिन्छ।
लामो समयसम्म सत्तामा रहेका दल र तिनका नेताहरूले अपेक्षित उपलब्धि दिन नसकेको जनगुनासोलाई वैकल्पिक शक्तिले सम्बोधन गर्ने प्रयास गरेको देखियो। राजनीतिक समीकरणको बारम्बार सत्ता अस्थिरतालाई यसपटक जनताले स्थिर सरकारको अपेक्षासहित नयाँ शक्तिलाई समर्थन गरेका छन्।

यस वर्ष स्थापित राजनीतिक नेताहरू विभिन्न काण्डमा मुछिएका छन भने  कतिपय नेताहरू राजनीतिक रूपमा निष्क्रिय जस्तै बने। भ्रष्टाचारका घटनाहरूले राजनीतिक क्षेत्रलाई थप तरङगीत बनायो। सधैंको राजनीतिक अस्थिरताबाट आजित जनताले यस वर्ष त्यसबाट मुक्ति पाउने आशा गरेका छन्। तर, समग्रमा हेर्दा २०८२ साल मुलुकका लागि पूर्ण रूपमा सुखद रहन सकेन। युवा बिद्रोहले राजनीतिक सत्ता मात्र होईन देशका धरोहर पनि ध्वस्त भए । राजनीतिक तनाव, आर्थिक सुस्तता र सामाजिक असन्तोषले देशलाई प्रभावित बनायो। रोग, भोक र त्रासबीच बाँचिरहेका केही नागरिकहरू पुनः आन्दोलनमा होमिनु प¥यो।  लामो समय सम्म राजनीतिमा राष्ट्रिय एजेन्डाभन्दा व्यक्तिगत स्वार्थ हाबी भएको थियो। जनताको सरलता र विश्वासको दुरुपयोग गर्दै  आएको अनुभूति जनताले गरे पछि जनताले वैकल्पीक शक्ति खोज्न बाध्य भए ।  लामो समय सम्म वास्तविक समस्या समाधानभन्दा पनि शक्ति संघर्षले प्राथमिकता पाएको थियो  जसले अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको थियो ।

वि.सं. १९९७ देखि हालसम्म अधिकारका लागि निरन्तर संघर्षरत नेपाली जनताले यस वर्ष पनि पूर्ण विश्राम पाउन सकेनन्। यद्यपि, राजनीतिक व्यवस्था परिवर्तनलाई उपलब्धि मान्ने जनतामा युवाहरूको विद्रोहले नयाँ आशा र ऊर्जा थपेको छ । समग्रमा भन्नुपर्दा, २०८२ साल नेपाल र नेपालीका लागि स्मरणीय वर्ष रह्यो केही उपलब्धि, केही चुनौती र धेरै अपेक्षासहित। अब समयको चक्रसँगै २०८३ सालको आगमन भएको छ ।

आगामी वर्ष नेपाली जनताका लागि सुखद, समृद्ध र ऐतिहासिक वर्ष  बनोस्। जनभावनाको सम्मान गर्ने नेतृत्व स्थापित होस्, सहमति र सहकार्यको राजनीतिले देशलाई सही दिशामा अगाडि बढाओस्, र सुशासनसहित समग्र विकासको मार्ग प्रशस्त होस यही नै नयाँ वर्षको हार्दिक शुभकामना।

 
 
 
 
मंगलबार, ०१ बैशाख २०८३, १२ : २६

प्रतिक्रिया