एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बुधबार, ०२ बैशाख २०८३, १३ : ०२

काठमाडौं- एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (बैशाख २ गते) अन्तिम दिन रहेको छ। कम्पनीले चैत २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको थियो।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको छ।

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँको १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको कम्पनीले विभिन्न समूहलाई छुट्याएर सेयर वितरण गरेको हो। जसमध्ये ४ लाख ७० हजार कित्ता स्थानीय बासिन्दा र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट भइसकेको छ।

त्यसैगरी, सामूहिक लगानी कोषका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीका लागि १८ हजार ८०० कित्ता सेयर पनि छुट्याइएको छ।

हाल कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ७ लाख ८० हजार २०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो, जसको कुल मूल्य ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबर रहेको छ। यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

कम्पनीले सञ्चालन गरेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ। आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ अनुमान गरिएको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

 
 
 
बुधबार, ०२ बैशाख २०८३, १३ : ०२

प्रतिक्रिया