प्रचण्ड भन्छन्– वर्तमान सरकार निरंकुशताको बाटोमा अघि बढ्यो

विहीबार, १७ बैशाख २०८३, ०९ : ५७

सुर्खेत– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन शाह नेतृत्वको वर्तमान सरकार निरंकुशताको बाटोमा अघि बढेको बताएका छन् । 

बिहीबार रुकुम पश्चिमको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ट्रेड युनियनदेखि विद्यार्थी संगठन खारेजी गर्न लागेको भन्दै यस्तो बताएका हुन् । साथै, उनले अध्यादेशको विषयमा पनि बोले ।

प्रचण्डले सुकुमबासीको विषयमा पनि आफ्नो धारणा राखे ।  सुकुमबासीहरूको वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गरेर वा डोजर चलाएर जुन काम गरिएको छ, त्यो बिलकुल गलत भएको उनको टिप्पणी छ ।

‘सदनलाई छलेर अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन रोक्ने विधि लोकतन्त्रको विरुद्धमा छ,’ उनले भने, ‘यो संसदीय परम्पराको समेत विरुद्धमा छ, त्यसो नगर्न हामीले सरकारलाई सावधान गराएका छौँ । यस्तो अलोकतान्त्रिक विधि अपनाउनु संविधान विपरीत हो ।’

‘यो तरिका ठिक छैन, यदि सुकुमबासीहरू गलत तरिकाले अतिक्रमण गरेर बसेका छन् भने पनि उनीहरूको वास्तविक स्थिति बुझेर छानबिन गर्नुपर्छ,’ उनले अगाडि भने, ‘तर, सरकारले हतास शैलीमा बल प्रयोग गर्‍यो ।’

 
विहीबार, १७ बैशाख २०८३, ०९ : ५७

प्रतिक्रिया