कांग्रेस गोरखा उपसभापति बस्नेतको प्रश्न– सत्य औंल्याउँदा स्पष्टीकरण किन ?

विहीबार, १७ बैशाख २०८३, १० : ३७

गोरखा- नेपाली कांग्रेस गोरखाका उपसभापति इमान सिंह बस्नेतले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा सम्बन्धी स्पष्टीकरण मागिएकोप्रति औपचारिक जवाफ दिएका छन्।

बस्नेतले केही दिनअघि फेसबुकमार्फत कांग्रेसप्रति जनस्तरमा आकर्षण घट्दै गएको आशय व्यक्त गरेका थिए। सो अभिव्यक्तिपछि जिल्ला अनुशासन समितिले पार्टी विधानको धारा ३४ र नियमावलीको नियम २८ अनुसार तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो।

त्यसप्रति जवाफ दिँदै बस्नेतले हालैको निर्वाचन परिणामले नै आम जनमानसमा कांग्रेसप्रति मोह घटेको तथ्य स्पष्ट पारेको बताएका छन्। उनले स्पष्टीकरणको जवाफ फर्काउँदै लेखेका छन्, ‘मत परिणामले पुष्टि गरिसकेको यथार्थलाई सार्वजनिक गर्दा स्पष्टीकरण सोध्नु आवश्यक देखिँदैन।’ 

उनले जनतामा बढ्दो असन्तुष्टिबारे पार्टीभित्र बहस हुनुपर्नेमा उल्टै सत्य उजागर गर्दा स्पष्टीकरण सोधिनु आश्चर्यजनक भएको टिप्पणी गरेका छन्। बस्नेतले आफू २०४६ सालदेखि कांग्रेसमा सक्रिय रहेको जनाउँदै ‘जरा अभियान’का क्रममा गाउँ–गाउँ पुग्दा नेता–कार्यकर्ता र सर्वसाधारणबीच बढ्दो वितृष्णा देखिएको उल्लेख  गरेका छन्।

साथै, शुभेच्छुकहरूको सुझावमा उक्त फेसबुक पोस्ट हटाइसकेको जनाउँदै उनले अब यस विषयमा थप स्पष्टीकरण आवश्यक नरहेको स्पष्ट पारेका छन्।

 
 
विहीबार, १७ बैशाख २०८३, १० : ३७

प्रतिक्रिया