काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को बैशाख ११ र १२ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले अध्यक्ष सन्तोष परियारद्वारा प्रस्तुत ‘समाजवादी लोकतन्त्र’ सम्बन्धी नयाँ प्रस्ताव पारित गरेको छ।
प्रतिनिधिसभा निर्वाचनपछि बसेको पहिलो विस्तारित बैठकले पार्टीको भावी राजनीतिक दिशा तय गर्दै समाजवादी लोकतान्त्रिक आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने निष्कर्ष निकालेको हो। बैठकमा निर्वाचन परिणामको समीक्षा गर्दै प्रलोपा नेतृत्वले संगठनात्मक कमजोरी, सीमित स्रोतसाधन र छोटो तयारीका कारण अपेक्षित सफलता हासिल गर्न नसकिएको स्वीकार गरेको छ।
डा। बाबुराम भट्टराई र जनार्दन शर्मासहितको सहकार्यमा निर्वाचनमा सहभागी भएको प्रलोपाले हार बेहोरे पनि त्यसलाई आत्मसमीक्षाको अवसरका रूपमा लिएको जनाएको छ। पार्टीले आगामी दिनमा यस्ता कमजोरी नदोहरिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
बैठकले नेपालमा ‘समाजवाद उन्मुख’ भनिएको वर्तमान व्यवस्थालाई व्यवहारमै ‘समाजवादी राज्य’मा रूपान्तरण गर्न आवश्यक रहेको ठहर गरेको छ। राजनीतिक दलहरूबाट अपेक्षित आर्थिक तथा सामाजिक रूपान्तरण हुन नसकेको निष्कर्ष निकाल्दै प्रलोपाले नयाँ वैचारिक र सांगठनिक पुनर्संरचनाको आवश्यकता औंल्याएको छ।
प्रलोपालाई गठन गर्नुपरेको पृष्ठभूमिबारे चर्चा गर्दै प्रतिवेदनमा पारम्परिक दलहरूमा देखिएको परिवारवाद, नातावाद, भ्रष्टाचार र विचारहीनताको आलोचना गरिएको छ। साथै, नवयुवा (जेन–जी) आन्दोलनले नेपाली राजनीतिमा नयाँ हस्तक्षेप र बहसको ढोका खोलेको उल्लेख गरिएको छ।
बैठकले ‘समाजवादी लोकतान्त्रिक आन्दोलन’लाई सशक्त बनाउने उद्देश्यसहित विभिन्न कार्यक्रम अघि सारेको छ। जसअन्तर्गत केन्द्रीयस्तरको वैचारिक समिति गठन, पार्टी पुनर्संरचना, वर्गीय–जातीय–लैंगिक मुद्दामा नेतृत्वदायी भूमिका, स्थानीय संगठन सुदृढीकरण र वामपन्थी–समाजवादी शक्तिहरूबीच एकता अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।
साथै, प्रलोपाले अन्य राजनीतिक दलहरूलाई राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र समाजवादी रूपान्तरणको लक्ष्यमा एकताबद्ध हुन आह्वान गरेको छ।
प्रतिक्रिया