काठमाडौं- कालंगा हाइड्रो लिमिटेडले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीका अनुसार आवेदन प्रक्रिया जेठ १३ गतेसम्म खुला रहनेछ भने आवश्यक परेमा यो अवधि जेठ २२ गतेसम्म लम्बिन सक्नेछ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको छ। अब बाँकी रहेको सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउन लागिएको हो।
कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा जारी हुने यी सेयरको कुल मूल्य ४९ करोड रुपैयाँ बराबर रहेको छ।
जसमध्ये १४ लाख कित्ता स्थानीय बासिन्दा र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर बाँडफाँट भइसकेको छ। त्यस्तै, १ लाख ७५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।
यी सबै छुट्याएपछि बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
प्राथमिक सेयरमा पछिल्लो समय उच्च आकर्षण देखिएकाले निष्काशन अवधिभित्रै मागभन्दा बढी आवेदन पर्ने अपेक्षा गरिएको छ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हाल्नेछ।
प्रतिक्रिया