काठमाडौं- टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको छ भने अब बाँकी सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये १२ लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बाँडफाँट भइसकेको छ। साथै, सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीका लागि ६० हजार ६१३ कित्ता सेयर पनि छुट्याइएको छ।
अब सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबरको २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्काशन गरेको हो। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा बैशाख २८ गते र ढिलोमा जेठ ६ गते तोकिएको छ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपाल ले केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। यस आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया