काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड फेरि आफ्नै पुरानै घरबेटी विवादास्पद ठेकेदार शारदा प्रसाद अधिकारीको नयाँ निवासमा सरेका छन् । यस अघि पनि अनेकौं विवादमा मुछिएका अधिकारीको ललितपुर खुमलटारस्थित निवासमा बस्दै आएका प्रचण्ड जेनजी विद्रोहपछि भने त्यहाँबाट सरेर आफ्नै नातेदारको घरमा बस्न थालेका थिए ।
गत भदौको जेनजी विद्रोहमा प्रचण्डका घरबेटी अधिकारीको खुमलटारको घरमा आगजनी भएपछि प्रचण्ड ललितपुरको हात्तीवनस्थित सम्धी टिबी पाठकको घरमा बस्दै आएका थिए । पार्टीकै नेता समेत रहेका पाठक प्रचण्डपुत्री रेणुका ससुरा हु्न् ।
यो पनि पढ्नुस्
कालोसूचीमा परेका ठेकेदार अधिकारीको घर खुमलटार प्रचण्डको स्थायी निवास
स्रोतका अनुसार, जेनजी विद्रोहपछि उनै सम्धी पाठकको घरमा बस्दै आएका प्रचण्ड केही दिनअघि फेरि पुरानै घरबेटी अधिकारीको मानभवनस्थित नयाँ बंगलामा सरेका हुन् । अधिकारीले व्यापारिक कम्प्लेक्सका रुपमा मानभवनमा बनाएको नयाँ भवनमा फेरि प्रचण्ड बस्न थालेका हुन् ।
यस अघि पनि अधिकारीकै ललितपुर खुमलटार स्थित निवासमा लामो समय बसेका प्रचण्ड फेरि उनै अधिकारीकै मानभवनस्थित नयाँ बंगलामा सरेपछि दुईको सम्बन्धलाई लिएर अनेकौं टिप्पणी हुन थालेको छ ।
यो पनि पढ्नुस्
प्रचण्डका घरबेटीको घरजग्गा लिलामीमा बिक्री !
अधिकारी विभिन्न सडक आयोजना ठेक्कामा लिँदै काम नगरी बारम्बार कालो सूचीमा परेर निर्माण प्रक्रियामै सहभागी हुन नपाउने गरी बञ्देज लगाइएका विवादास्पद ठेकेदार हुन् । देशका विभिन्न स्थानका सडक ठेक्कामा लिएर अलपत्र पारेर कालोसूचीमा परेका उनै अधिकारीले बैंकको ऋण तिर्न नसकेपछि उनको विभिन्न स्थानका घरजग्गा समेत लिलामी गरेको थियो ।
प्रतिक्रिया