प्रलोपा विवाद

वैचारिक मतभेदले प्रलोपाको आन्तरिक विवाद उत्कर्षमा, अलग्गिने तयारीमा बाबुराम समूह

शुक्रबार, ०१ जेठ २०८३, १६ : २३

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । चुनावमा अनपेक्षित परिणाम हात पारेपछि असन्तुष्टि चुलिएको प्रलोपामा पार्टीका संरक्षक बाबुराम भट्टराईलाई बिदाई गरिएपछि थप विवाद बढेको हो ।

यस अघि बैशाख १२ र १३ गते बसेको केन्द्रीय समितिको बैठकले भट्टराईको ‘वैज्ञानिक मानववाद’लाई अस्वीकार गर्दै पार्टी वामपन्थी धारमा उभिने निर्णय गरेपछि बाबुराम भट्टराई समूह असन्तुष्ट रहेको रहेको थियो । त्यसपछि फेरि अध्यक्ष परिषद्को बैठकले पार्टीका संरक्षक रहेका भट्टराईलाई सक्रिय राजनीतिबाट बिदा दिने निर्णय गर्दै सन्तोष परियालाई पार्टी सञ्चालनको कार्यकारी भूमिका दिएको थियो । 

एकपछि अर्को आफ्नो पक्ष विरोधी निर्णयलाई भट्टराई समूहले अस्वीकार गर्दै आइरहेको छ । अध्यक्ष परिषदको आफूलाई बिदाई गर्ने निर्णयपछि रुष्ट रहेका भट्टराईले सार्वजनिक रुपमै असन्तुष्टि पोखेका थिए । 

सन्तोष परियारको नेतृत्वमा प्रलोपा नयाँ ढंगले अघि बढ्ने घोषणा गरेपछि असन्तुष्ट रहेको भट्टराई पक्षले आज पार्टी कार्यालय तीनकुनेमा आफूपक्षीय नेताहरुको बैठक बोलाएको छ । बैठकमा पार्टीभित्र भट्टराईमाथिको उपेक्षाकारी निर्णय र आगामी रणनीति तय गर्ने बारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।

राजनीतिक विचारधारामै विमित रहेपछि सँगै रहन मुश्किल रहेको भट्टराई पक्षका ती नेताले बताए । उनका अनुसार भट्टराई पक्ष आन्तरिक छलफलमा रहेको र छिट्टै निर्णय गर्ने तयारी गरिरहेको छ । 

प्रलोपामा गत फागुन २१ को अनपेक्षित चुनावी परिणाम पछि पाँच सदस्यीय अध्यक्ष परिषद्का तीन जनाले राजीनामा दिएका थिए । त्यसमध्ये सुदन किरातीले पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरिसकेका छन् । 

अन्य अध्यक्ष परिषदका अध्यक्षद्वय दुर्गा सोव र ओजस्वी भट्टराईले पनि राजीनामा दिएर निष्कृय बनेका छन् । अहिले अध्यक्ष परिषदका सन्तोष परियार र अशोक जयसवाल मात्रै पार्टीमा सक्रिय रहेका छन् ।

 
 
 
शुक्रबार, ०१ जेठ २०८३, १६ : २३

प्रतिक्रिया