काठमाडौं- चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपालका जीवन बीमा कम्पनीहरूको व्यवसाय उल्लेख्य रूपमा विस्तार भएको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ५६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.०६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा जीवन बीमा कम्पनीहरूले १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए।
कुल बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले आफ्नो व्यवसाय १२.५१ प्रतिशतले बढाउँदै ४१ अर्ब १६ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ ।
त्यसैगरी नेशनल लाइफ इन्स्योरेन्स ले १०.६१ प्रतिशत वृद्धि गर्दै १९ अर्ब २ करोड रुपैयाँ र एलआइसी नेपालले ८.१४ प्रतिशत वृद्धि गर्दै १६ अर्ब ८४ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।
हिमालयन लाइफ इन्स्योरेन्स को व्यवसाय ५.५२ प्रतिशतले बढेर १४ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी ले १६.४३ प्रतिशत वृद्धि गर्दै १० अर्ब ९ करोड रुपैयाँ आर्जन गरेको छ।
यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सको व्यवसाय ११.४७ प्रतिशतले बढेर ९ अर्ब ५० करोड ९० लाख रुपैयाँ पुगेको छ । एशियन लाइफ इन्स्योरेन्सले १२.२५ प्रतिशत वृद्धि गर्दै ८ अर्ब १ करोड ५२ लाख रुपैयाँ र सिटिजन्स लाइफ इन्स्योरेन्स ले १९.४९ प्रतिशत वृद्धि गर्दै ६ अर्ब ७८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
त्यस्तै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको व्यवसाय १२ प्रतिशतले बढेर ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।
वृद्धिदरका आधारमा भने आइएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । कम्पनीको व्यवसाय ३१.३० प्रतिशतले बढेर ५ अर्ब ५० करोड २६ लाख रुपैयाँ पुगेको छ।
यसैगरी मेट लाइफको बीमा शुल्क आर्जन १०.२८ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले १९.१३ प्रतिशत वृद्धि गर्दै ४ अर्ब ९४ करोड रुपैयाँ आर्जन गरेको छ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको व्यवसाय १४.५९ प्रतिशतले बढेर ४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ भने सन नेपाल लाइफ इन्स्योरेन्स ले ३.८८ प्रतिशत वृद्धि गर्दै ३ अर्ब ५५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।
प्रतिक्रिया