काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले कुल ५७ अर्ब ९७ करोड ५० लाख रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१५ प्रतिशतले कम हो।
गत आर्थिक वर्षको सोही अवधिसम्म बीमा कम्पनीहरूले ६७ अर्ब ५३ करोड २७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए।
तथ्यांकअनुसार समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले १ लाख ५९ हजार ३०२ वटा दाबीबापत ३४ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा २ लाख १८ हजार ९५१ वटा दाबीको ४८ अर्ब ९५ करोड ४२ लाख रुपैयाँ भुक्तानी भएको थियो।
यता, निर्जीवन बीमा कम्पनीहरूले १ लाख २५ हजार ७८२ वटा दाबीबापत २३ अर्ब ३६ करोड १७ लाख रुपैयाँ भुक्तानी गरेका छन्। गत वर्षको सोही अवधिमा १ लाख १३ हजार ९३७ वटा दाबीको १८ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ भुक्तानी भएको थियो।
चालु आर्थिक वर्षको १० महिनासम्मको अवधिमा बीमा कम्पनीहरूबाट कुल ५१ अर्ब १४ करोड ३९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी हुन बाँकी रहेको देखिएको छ। यसअन्तर्गत १ लाख ७८ हजार ६० वटा दाबी फर्छ्योट हुन बाँकी छन्।
जीवन बीमा कम्पनीतर्फ ६१ हजार ६४९ वटा दाबीबापत ५ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५३ हजार ४८१ वटा दाबीबापत ४ अर्ब ४५ करोड १५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी थियो।
त्यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ १ लाख १६ हजार ४४१ वटा दाबीबापत ४५ अर्ब ६१ करोड ९८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ।
प्रतिक्रिया