बीमा

एक वर्षमै जीवन बीमा कम्पनीको २ खर्ब ४ अर्ब बढी बीमाशुल्क संकलन, बागमती प्रदेश अग्रस्थानमा

मंगलबार, १९ साउन २०८३, १४ : ५०

काठमाडौं– गत आर्थिक वर्षमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनी र तीन लघु जीवन बीमा कम्पनीले विभिन्न प्रकारका बीमालेखमार्फत कुल २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सावधिक जीवन बीमा सबैभन्दा बढी लोकप्रिय बन्दा यस शीर्षकबाट मात्रै ८२ अर्ब ६२ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।

तथ्यांकअनुसार अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट ३७ अर्ब ६७ करोड २१ लाख रुपैयाँ र बालबच्चा सम्बन्धी सावधिक जीवन बीमाबाट ३३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। यस्तै रुपान्तरित सावधिक जीवन बीमाबाट २३ अर्ब ९६ करोड ४५ लाख रुपैयाँ, एकल बीमाशुल्क जीवन बीमाबाट ९ अर्ब ८८ करोड ७२ लाख रुपैयाँ, आजीवन जीवन बीमाबाट ४ अर्ब २७ करोड ३२ लाख रुपैयाँ तथा अन्य जीवन बीमाबाट ३ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ संकलन भएको छ।

त्यसैगरी लघु जीवन बीमाबाट ३ अर्ब ५४ करोड १९ लाख रुपैयाँ, वैदेशिक रोजगार म्यादि जीवन बीमाबाट ३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ तथा म्यादि जीवन बीमाबाट १ अर्ब ८० करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकले देखाएको छ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै बीमाशुल्क बागमती प्रदेशबाट संकलन भएको छ। बागमतीबाट ८६ अर्ब ९६ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। त्यसपछि लुम्बिनी प्रदेशबाट ३३ अर्ब २२ करोड रुपैयाँ, कोशी प्रदेशबाट २५ अर्ब १६ करोड ५४ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट २१ अर्ब ३० करोड ४६ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ६ अर्ब २१ करोड ३८ लाख रुपैयाँ संकलन भएको छ।

त्यस्तै, तथ्यांकअनुसार मधेश प्रदेशबाट १९ अर्ब १३ करोड रुपैयाँ तथा सुदूरपश्चिम प्रदेशबाट १२ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। प्रदेशगत विवरणले बागमती प्रदेश जीवन बीमा बजारको प्रमुख केन्द्रका रूपमा रहेको देखाउँदा अन्य प्रदेशमा पनि बीमा पहुँच क्रमशः विस्तार हुँदै गएको संकेत गरेको छ।

मंगलबार, १९ साउन २०८३, १४ : ५०

प्रतिक्रिया