प्रदीप सापकोटा
हरेक व्यक्ति आफैंमा कवि हो,बोधराज पौडेलको हकमा यो कुरा लागू नहुने कुरै भएन । छन्दमा सुन्दर कविता सिर्जना गर्नेमा भएको काव्यात्मक भावले निबन्धलाई झनै बलियो बनाउँछ । धमिराको देवल पढेपछि यहि कुरा प्रमाणित पनि हुन्छ । बोधराजका बाईस थान आकारमा मध्यम आयतनका निबन्धहरु पढेपछि भन्न सकेँ– उनका निबन्धहरु बैचारिक चेतको प्रखरता,तर्कशील,अनुभूतिको गहिराईमा डुबेर लेखिएका छन् ।
उसो त उनको यो पहिलो निबन्धकृति भने होइन् । यसअघि सोकेसको ऐना प्रकाशित गरिसकेका अनुभवको आरनमा मज्जैले खारिएर,चिन्तनशील मस्तिष्क मन्थन गरिएर निस्किएका समाजका अनेक अवयवहरुसँग सम्बन्धित रहेका विषयवस्तु चयन गरि सिर्जना गरिएका निबन्धहरु पठनीय लाग्छन् । विषयगत विविधा निबन्धको आफ्नोपन हो । के छैन् कृतिभित्र कल्पनाको प्रचुरता,चिन्तनको खात,दार्शनिक चेत,भावनाको स्वच्छन्द उडान । यस्तै विचार र भावनाको समिश्रण । तर्कको साम्राज्य लाग्छन् निबन्धहरु । मनको उद्वेगमा मिसाइएको छ–विचार दर्शन । जीवन र भोगाइका विभिन्न आयामहरु पर्गेलेर निबन्ध बनेका छन् । यी सबै बैविध्यपूर्ण लाग्छन् । एकअर्कासँग अनोन्याश्रित रुपले सम्बन्धित र अन्तरनिर्भर लाग्छन् ।
शिर्षक बडो बिम्वात्मक लाग्छ –धमिराको देवल । अनि निबन्धहरु पढिसकेपछि शिर्षकको सार्थकता पुष्टि हुन्छ । हामी सबैलाई थाहा छ धमिराले बनाएको अग्लो थुम्को हो –धमिराको देवल । झट्ट हेर्दा सामान्य लाग्छ तर भित्र कोठाकोठामा विभाजित हुन्छ । यसैले देवल उपमा दिइएको हो । जुन माटोबाट निर्माण गरिएको हुन्छ । अत्यन्तै मिहेनतपूर्वक माटोकै जगमा खडा हुन्छ धमिराको देवल । श्रम र सीप त कति धेरै खन्याउँछन् धमिराहरु । बैरीसँग डराउन्नन् धमिरा बरु भिड्छन् जीवन त्याग्न तत्पर हुन्छन् । श्रममा अथकित हुन्छन् । कार्यविभाजनमा पोख्त उस्तै । शिर्षकतिरै मैले बढी जोड दिएँ । देवलभित्र हामी मान्छेलाई सु–स्वादु लाग्ने च्याउ उम्रिन्छ । पहाडमा देउले च्याउ भन्छन् । तराईमा पनि पाइन्छ त्यो च्याउ । साह्रै स्वादिलो,आकारमा एकहात जति लामो कतै यसको नाउँ ढिम्की छ त कतै धमिरे च्याउ पनि भनिन्छ । नाउँ अनेक छन् स्थान अनुसार वगाले च्याउ,बेम्टी च्याउ आदि आदि । धमिराको देवलभित्र पलाउँने च्याउ । देवलको धार्मिक महत्व पनि छ,पुजाआजामा पनि त्यहाँको माटो पवित्र मानिन्छ । अर्कोतिर धमिरा शालकको आहारा पनि हो,लोपोन्मुख शालक जोगाउन पनि धमिराको भूमिका छ । धमिराको देवल ६ मिटरसम्म अग्लो हुन्छ । हावा र पानी निकास हुने किसिमले बनाउँछ धमिराले देवल । त्यसैले वास्तुकलाको अनुपम उदाहरण पनि मानिन्छ देवल ।
शीतविन्दुमा मोतीको चमकले प्रकृतिको जीवन्त चित्रण गरेको छ । जहाँ बिहानीको शीतका थोपाहरुलाई मोतीको दाना र सूर्यको चहकिलो प्रकाशसँग तुलना गरि जीवनको क्षणभङ्गुरतालाई प्रकृतिको सौन्दर्यपानसँग काव्यिक चेतमा दृष्टि दिइएको छ । निबन्ध मानवीय संवेदनाको सन्निकट भएर आएको छ । जीवनका विभिन्न रङ निबन्धमा परेका छन् ।
दोस्रो निबन्धमा लुप्त मनले उध्याएको तृष्णाभिभत्र मानवीय मनको चञ्चलता उजागर गरिएको छ । कसरी मन हिमालदेखि समुन्द्रसम्म पनि डुल्छ भन्ने कुरालाई दार्शनिक भावमा व्यक्त गरिएको छ । यसमा पनि प्रकृति र मान्छेका जीवनको तुलना गरिएको छ । निबन्धमा सुन्दर बिम्बहरु प्रयुक्त भएका छन् । निबन्धकारले आफ्नो मनलाई नियन्त्रणमा राख्न अनावश्यक कुराहरुको चासो र चिन्ता नगर्न सुझाएका छन् । यसो गर्दा जीवनमा शान्ति प्राप्त हुने उनको ठम्याई छ ।
सम्बन्धका विभिन्न पक्षहरुको चर्चा गर्दै पौडेलले यसलाई प्राकृतिक र स्वभाविक कुराको रुपमा लिएका छन् । भीरमा फुल्ने गुराँस,चन्द्रमाको कला र नदीका किनारहरुसँग सम्बन्धलाई तुलना गरेका छन् । उनले जसरी पुराना पातहरु झरेर नयाँ पालुवा पलाउँछन्,जसरी अण्डा फुटेर चल्ला निस्किन्छ त्यस्तै सम्बन्धहरु पनि पुस्तान्तरण हुने कुरामा जोड दिएका छन् । सम्बन्धको निरन्तरता विश्वास र समर्पणको जगमा हुने भन्दै सम्बन्धमा स्नेह,आपसी विश्वास र सद्भावको अनिवार्यता रहने बताएका छन् ।
‘अन्तर मनको आँधी’ भित्र मानिसको मनभित्र चल्ने अशान्ति,बेचैनी,छटपटी र द्धन्द्धलाई प्राकृतिक आँधीहरुसँग तुलना गरिएको छ । यसमा सृष्टिका चक्र र प्राकृतिक नियमको चर्चा गरिउको छ । मानिसले प्राकृतिक जीवनदर्शनबाट धेरै कुरा सिक्न सक्ने भावमा मानवीय चेतना रहेको पनि उनले निबन्धमा बताएका छन् ।
धमिराको गुँडमा छिचिमिराको साम्राज्यमा धमिराले माटोको देवल बनाउँदा अपनाउने विधि,श्रमप्रति तिनको निष्ठाभाव, र अनुशासनका कुराहरु सुक्ष्म रुपले चित्रित छ । पखेटा पलाएको केही समयमै जीवन सकाउने धमिराको बास्तविक कथा छ त्यहाँ । मान्छेका जीवनका संस्कारहरु नभुल्न,विगतलाई घृणा नगर्न र प्रकृतिको जीवनचक्रलाई ख्याल गर्न मान्छेलाई सुझाएका पौडेलले जीवनदर्शनको गहिरो सन्देश प्रवाह गरेका छन् ।
‘गर्भमा गर्भको बोध’ ले मानिस र पशुबीचको निस्वार्थ सम्बन्धलाई मार्मिक ढङ्गले चित्रण गरेको छ । निबन्धकारले सामान्य घट्नाभित्र असाधारण संवेदना खोज्ने प्रयास गरेका छन् । यसमा मानवीय करुणा पनि छ । ‘ग्रहणले लुकाएको सूर्यमा सियोको डोब’ भित्र आर्थिक अभाव,श्रमको अबमूल्यन र संघर्ष भेट्न सकिन्छ । यसले समाजमा ओझेल परेका श्रममा जिउने मान्छेका आत्मसम्मानलाई गहिरो भावमा अभिव्यक्त गरेको छ । वर्तमान समयको सरकारी कार्यालयहरुको जिउँदो जाग्दो तस्बिरलाई उतारेको छ ‘कपटीहरुको सङ्गत’ ले । कार्यालयको वातावरण,सेवाग्राहीले भोग्नुपर्ने सास्ती,कामचोर प्रवृत्तिलाई तिखो प्रहार गरिएको छ ।
निबन्धकारलाई कोरोना कहरले आक्रमण गर्दाको अनुभव र अनुभूति मार्मिक रुपमा आएको छ ‘कोरोना’ मा । ‘मान्छे किन आफैँभित्र हराउँछ’ निबन्धले आडम्बरी समाजमा शैक्षिक आदर्शको निस्सारताको कुरा गरेको छ । विश्वविद्यालय होस या विद्यालय अथवा घर नै किन नहोस तिनले सिकाएका आदर्श र जीवनको यथार्थ फरक छ भन्ने देखाउन खोजिएको छ ।यसमा दार्शनिकताको छनक पाइन्छ ।
‘सालिकको बकपत्र’ ले विभिन्न समयमा आन्दोलनका नाउँमा शालिक फुटाउने,ढाल्ने होडबाजी र सत्ताको साँचो हातमा लिएपछि सहिद र शालिकको अबमूल्यन गर्ने नेपाली परिपाटीप्रति कटाक्ष गरेको छ । राजनीतिक दाउपेचले हुने राजनीतिक अस्थिरताबिच जनताका समस्या ओझेलमा पर्ने वर्तमान समयको सजिव चित्र निबन्धमा पाउन सकिन्छ । ‘पाखनवेदको गुण’ मा निबन्धको सङ्घर्षमा निबन्ध लेखनी सजिलो हुन्न भन्दै जीवनको गहिरो साधनाले मात्र असल निबन्ध जन्मिनसक्ने भनिएको छ । निबन्धलाई डोको बुन्ने,रुखबाट फर्निचर बनाउने र पाखनवेदनको जडीबुटीय गुणसँग तुलना गरिए जस्तो लाग्छ ।
‘समुन्द्रको आक्रोस र सगरमाथाको शालिनता’ मा विभिन्न प्राकृतिक बिम्बहरुको प्रयोग गरी मानव स्वभाव र प्रकृतिको जीवनदायी पक्षलाई सगरमाथा संवादमा पढ्न पाइन्छ । ‘ विशाल समुन्द्र र उचाई चुलिएको सगरमाथाबीचको संवाद’ मार्फत प्रकृतिमा मानिसको अहङ्कार पनि प्रस्तुत गरिएको छ । ‘आदर्श’ले जीवन दर्शन,प्रकृति,आत्मशान्ति जस्ता कुराहरुलाई समेटेको छ । निबन्धले निष्काम भावले समाज वा प्रकृतिको सेवा गर्न सुझाउँछ । गहिरो जीवन बोध छ यहाँ । ‘जीवनको भोग’ ले पारस्परिक सहअस्तित्वमा बाँच्नुपर्ने गहिरो कुरा गर्छ । यसले जीवनको वास्तविक सार्थकतालाई बोध गराउँछ ।
‘निस्सार भागदौड’ मृत्यू र नश्वरता,अर्थहीन जीवनको भागदौडमा छ । जीवनको सत्यको उजागर गरेको यो निबन्धले सत्य स्वीकार्न आग्रह गर्छ । मान्छेका एकांकीपन,मानवीय चेतनाभित्रका असन्तुलन र अहंकार जस्ता यथार्थ बोल्छ–‘अन्तरदशामा रमाएको मनोदशा’ । मान्छेका उमेर,चेतना,ज्ञान बढेसँगै मानिसभित्र जाग्ने निराशा र भ्रमलाई सुक्ष्म रुपले केलाइएको निबन्ध हो–‘भुल्दै गएको तत्वबोधमा हराएको आत्मसम्मान’। रक्सीको नशामा मातेर आफ्नो छुट्टै संसारमा रमाउने मान्छेको जीवनशैली र उसलाई समाजले हेर्ने दृष्टिकोण ‘अतृप्त जलको तृष्णा’मा सुन्दर ढंगले चित्रण गरिएको छ । साथै यसमा निबन्धकारले बाह्य कुरा भन्दा मनको सन्तुष्टि नै वास्तविक आनन्द हो भन्ने कुरालाई प्रष्ट्याउन खोजेका छन् ।
पत्रकार कमलराज राईको स्मृति बिम्बमा लेखिएको निबन्ध ‘अस्ताएका कमलप्रति : स्मृति बिम्ब’ हो । अत्यन्तै भाबुकताका साथ निबन्धकार यहाँ प्रस्तुत भएका छन् । पहिलो भेटदेखि व्यवसायिक जीवन र उनको असामयिक निधनसम्मका घट्नाहरु समेटिएका छन् ।
‘समय चक्र’ समयको गति,जीवनमा गरिने सङ्घर्ष,अभावमा बाँच्ने मान्छेका पीडा र छटपटी यी सबैको बीच मान्छेले खोज्ने आफ्नो अस्तित्वलाई दार्शनिक तबरले चित्रण गरिएको निबन्ध हो । मानिसका स्वभाव मौसम परिवर्तनसँगै परिवर्तन हुने चरित्रको हुने बताएका छन् । जीवनमा जे जति सङ्कट आएपनि जुधेर अघि बढ्नु मै जीवनको शाश्वत अर्थ हुने निबन्धकारको धारणा यहाँ आएको छ ।
अन्तिम निबन्ध ‘झर्नुस् झर्नुस् चौरासी आइपुग्यो’मा देशमा हुने भ्रष्टाचार,राजनीतिक प्रदुषण,प्रशासनिक ढिलासुस्ती,राजनीतिक दलका असक्षमता जस्ता विषयहरुप्रति कडा रुपमा कटाक्ष प्रहार गरिएको छ । समसामयिक विषयमा यथार्थपरक ढँगले उनले चित्रण गरेका छन् । जसरी झर्नुस् झर्नुस् चौरासी आइपुग्यो भन्दै यात्रु ओराले जस्तै राजनीतिक दलहरुले आफ्ना सिद्धान्त र विचार टोकरीमा थन्क्याएर सोझा जनतालाई अल्मल्याएको वर्तमान समयको कारुणिक सत्यलाई यहाँ प्रस्तुत गरिएको छ ।
वास्तवमै धमिराको देवल समसामयिक नेपाली समाज र यहाँको राजनीति, मानवका मनोविज्ञान र भुइँमान्छेका पीडाहरुलाई मिहिन ढङ्गले चित्रण गरिएका निबन्धहरुको सङ्ग्रह हो । यसमाजीवन दर्शन पनि गहिरोसँग आएको छ । विषयवस्तुको विविधता छ । स्मृति र संस्मरणात्मक रुपमा पनि केही निबन्ध आएका छन् । प्रतिकात्मक छन् कृतिको शिर्षक जस्तै प्रायः निबन्धहरु । शिर्षकहरु अर्थपूर्ण छन् । प्रकृतिका सानातिना अवयवहरुलाई मानवीय जीवन र भावनासँग सन्निकट राखेर निबन्ध पस्केका छन् । आत्मपरकतामा गम्भीर र बौद्धिकता मिसिएको छ । विचार र तर्कको सन्तुलनले निबन्धहरु बलशाली देखिएका छन् । व्यङ्ग्यचेत पनि निबन्धमा प्रबल देखिन्छ । हार्दिक बधाई छ निबन्धकार बोधराज पौडेल ।
प्रतिक्रिया