काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीमा नेतृत्व र पार्टी संकटमा परेको भन्दै त्यसको रक्षा गर्नुपर्ने तर्क प्रस्तुत गरेका अखिल नेपाल ट्रेड युनियन महासंघका पूर्व अध्यक्ष तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई स्वतन्त्र वाम नेता तथा लेखक महेश्वर दाहालले कडा जवाफ दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै दाहालले विगतको एक घटनाको स्मरण गराउँदै जम्कट्टेलप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले जम्कट्टेल जेलमा रहेका बेला नेपाल टेलिभिजनमार्फत आत्मसमर्पण गरेको आरोप लगाउँदै रवीन्द्र श्रेष्ठले जेलमा कारबाही गरेको प्रसंग उल्लेख गरेका छन् ।
दाहालले त्यस समयमा आफूले जम्कट्टेलमाथि लगाइएको आरोपको खुलेर प्रतिवाद गरेको दाबी गरेका छन् । उनले त्यतिबेला विवादको फैसला बाहिर गरौं र जेलभित्र एकताबद्ध भएर बसौं भन्ने प्रस्ताव समेत राखेको स्मरण गरेका छन् ।
तर वर्तमान अवस्थामा जम्कट्टेलले श्रमिक वर्गका मुद्दा र हितलाई बेवास्ता गरेको आरोप दाहालले लगाएका छन् । उनले नेतृत्वको संरक्षणका नाममा श्रमिक आन्दोलनको मूल उद्देश्यबाट विचलित भएको टिप्पणी गरेका छन् ।
दाहालले आफ्नो प्रतिक्रियामा जम्कट्टेलप्रति लक्षित गर्दै भनेका छन् कि श्रमिक आन्दोलनबाट स्थापित नेताहरूले श्रमिक वर्गकै पक्षमा दृढतापूर्वक उभिनुपर्ने हुन्छ । उनले व्यक्तिगत वा नेतृत्वकेन्द्रित राजनीतिले श्रमिक वर्गका आकांक्षा पूरा गर्न नसक्ने बताएका छन् ।
उनले जम्कट्टेललाई आत्मालोचना गर्न आग्रह गर्दै नेतृत्वप्रतिको अन्धसमर्थन त्यागेर पुनः श्रमिक वर्गको पक्षमा फर्कन सुझाव दिएका छन् । दाहालका अनुसार कम्युनिस्ट आन्दोलनको मूल आधार श्रमिक र उत्पीडित वर्गको हित रक्षा गर्नु हो, त्यसैले नेतृत्वको बचाउभन्दा वर्गीय मुद्दालाई प्राथमिकता दिनु आवश्यक छ ।
महेश्वर दाहालकाे भनाइ जस्ताको तस्तै,
`तपाईंलाई सम्झना होला, तपाईं जेलमा रहँदा टेलिभिजनमार्फत तपाईंले आत्मसमर्पण गरेको आरोप लगाउँदै रवीन्द्र श्रेष्ठले कारबाही गर्दा मैले त्यसको प्रतिवाद गरेको थिएँ । यसकाे फैसला वाहिर गराैं, जेलमा मिलेर बसाैं भनेकाे थिएँ । तर आज तपाईंले श्रमिकहरूको मुद्दा बिर्सेर श्रमिक वर्गलाई धोका दिनुभएको छ । आफ्नो भूमिकाको आत्मालोचना गर्दै प्रचण्डकाे दलाली गर्न छाडेर पुनः श्रमिक वर्गको पक्षमा फर्कनुहोस् । मेराे याे सुझाव छ ।´


प्रतिक्रिया