महेश्वर दाहालको टिप्पणी : ‘अब कम्युनिस्ट आन्दोलनलाई नयाँ वैचारिक बहस र नयाँ नेतृत्व चाहिन्छ’

सोमबार, १५ असार २०८३, १६ : ३५

काठमाडौं- सञ्चारकर्मी तथा राजनीतिक विश्लेषक महेश्वर दाहालले वरिष्ठ नेता झलनाथ खनालद्वारा लिखित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद !’ पुस्तकले नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ वैचारिक बहसको सुरुआत गरेको बताएका छन् ।

पुस्तकमाथि समीक्षा प्रस्तुत गर्दै दाहालले यो कृति बहुदलीय जनवादको आलोचनामा मात्र सीमित नभई कम्युनिस्ट आन्दोलनभित्रको आत्मसमीक्षा, वैचारिक पुनर्निर्माण र भविष्यको दिशाबारे गम्भीर प्रश्न उठाउने दस्तावेज भएको बताए । उनका अनुसार लेखकले आफ्नै आन्दोलनका कमजोरी, नेतृत्वको वैचारिक विचलन र गुटबन्दीबारे खुलेर समीक्षा गरेका छन्, जुन कम्युनिस्ट आन्दोलनका लागि सकारात्मक पक्ष हो ।

दाहालले २०७४ सालपछि बनेको शक्तिशाली कम्युनिस्ट सरकारसँग ऐतिहासिक परिवर्तन गर्ने अवसर रहे पनि नेतृत्वभित्रको व्यक्तिवाद, गुटबन्दी र वैचारिक अस्पष्टताका कारण त्यो अवसर गुमेको विश्लेषण पुस्तकमा गरिएको उल्लेख गरे । उनले पुस्तकले वैज्ञानिक समाजवादलाई पुनः आन्दोलनको मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएको बताए ।
उनले पुस्तकको प्रशंसा गर्दै बदलिँदो विश्व अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, स्वचालन र गिग अर्थतन्त्रले सिर्जना गरेका नयाँ चुनौतीहरूलाई समाजवादी दृष्टिकोणबाट अझ विस्तृत रूपमा समेटिएको भए कृति अझ समृद्ध बन्ने टिप्पणी गरे ।

दाहालले पुस्तकमा पुरानो नेतृत्वको पुनरावृत्तिबाट मात्र परिवर्तन सम्भव नहुने, सक्षम, क्रान्तिकारी र युवा नेतृत्वलाई अगाडि ल्याएर कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्नुपर्ने सन्देश स्पष्ट रूपमा आएको बताएb। उनका अनुसार यो पुस्तक विगतको समीक्षा मात्र होइन, नयाँ पुस्तालाई सोच्न, बहस गर्न र बदलिँदो विश्वसँग मेल खाने समाजवादी विकल्प खोज्न प्रेरित गर्ने महत्वपूर्ण वैचारिक कृति हो ।

सोमबार, १५ असार २०८३, १६ : ३५

प्रतिक्रिया