काठमाडौं- भक्तपुर निवासी ५२ वर्षीया जयन्ती थापा नेपाल मेडिसिटी अस्पताल आइपुग्दा उनको अवस्था अत्यन्तै गम्भीर थियो । कलेजोले काम गर्न लगभग छोडिसकेको थियो । पेटमा अत्यधिक पानी जमेकाले पेट अस्वाभाविक रूपमा फुलेको थियो र सामान्य रूपमा सास फेर्नसमेत कठिन भइरहेको थियो । अवस्था यति जटिल थियो कि प्रत्येक दुई–तीन दिनमा पेटबाट पानी निकाल्नुपर्ने बाध्यता थियो । उनको यो समस्याको मुख्य कारण कलेजोको दीर्घकालीन रोग थियो ।
जयन्तीका अनुसार करिब १२ वर्षअघि उनलाई सामान्य जन्डिस भएको थियो । उपचारपछि निको भए पनि केही वर्षपछि कलेजोमा गम्भीर समस्या देखिन थाल्यो । विस्तारै उनको कलेजो कमजोर बन्दै गयो । पछि मुख र दिसाबाट समेत रगत बग्न थाल्यो । परीक्षणका क्रममा कलेजोको रोगका कारण खानानलीका नसाहरू सुन्निएर फुटेका रहेछन् । त्यसपछि उनको एन्डोस्कोपीको माध्यमबाट ती सुन्निएका नसामा विशेष रबर ब्यान्ड लगाएर रगत बग्न रोक्ने उपचार गरिएको थियो ।
परिवारले विभिन्न अस्पतालमा उपचार गराए पनि स्वास्थ्यमा अपेक्षित सुधार आएन । अन्ततः विदेश गएर उपचार गर्न चिकित्सकहरूले सुझाव दिएका थिए । तर अपरिचित देश, भाषा नबुझ्ने अवस्था र आर्थिक भारको चिन्ताले उनी भारत जान चाहेनन् ।
“मेरो छोरीले इन्टरनेटमा खोज्दा नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण हुने जानकारी पाएँ । नेपालमै राम्रो उपचार हुने रहेछ भन्ने विश्वास लागेर यहाँ आएँ,” जयन्तीले सुनाइन् । नेपाल मेडिसिटी आइपुग्दा उनको अवस्था निकै नाजुक भइसकेको थियो । पेटमा जमेको पानीमा समेत संक्रमण भइसकेको थियो, जुन समयमै नियन्त्रण गर्न नसकिएको भए ज्यानै जोखिममा पर्न सक्ने अवस्था थियो ।
नेपाल मेडिसिटीका हेपाटो प्याक्रियाटो विलियरी तथा लिभर ट्रान्सप्लान्टका विभागीय प्रमुख प्रा. डा. उमिद कुमार श्रेष्ठका अनुसार, “उहाँ अस्पताल आउँदा निकै गम्भीर अवस्थामा हुनुहुन्थ्यो । पेटमा जमेको पानीमा संक्रमण भइसकेको थियो । यस्तो अवस्थामा प्रत्यारोपणभन्दा पहिले संक्रमण नियन्त्रण गर्नु अत्यन्त आवश्यक हुन्छ । संक्रमण सफलतापूर्वक नियन्त्रण गरेपछि तुरुन्तै कलेजो प्रत्यारोपणको प्रक्रिया अघि बढायौं।“
जयन्तीका श्रीमान् कलेजो दान गर्न तयार थिए । तर यसै वर्ष ५५ वर्ष उमेर पुगेका कारण चिकित्सकीय मापदण्डअनुसार उनी दाता बन्न मिलेन । त्यसपछि उनकी २१ वर्षीया छोरी ज्यासमिन थापा मगरले आमालाई आफ्नो कलेजो दान गर्ने निर्णय गरिन् । आमाछोरी दुबैजनाको असार २ गते शल्यक्रिया गरिएको हो ।
सफल कलेजो प्रत्यारोपणपछि जयन्तीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । शल्यक्रियापछि छोरी ज्यासमिन ७ दिन र जयन्ती केवल १७ दिनमै स्वस्थ भएर घर फर्केकी हुन् ।
स्वास्थ्यलाभपछि उनले भनिन्, “नेपालमै यस्तो उत्कृष्ट सेवा हुँदाहुँदै दुःख गरेर विदेश किन जानु? यहाँ पनि सहज रूपमा उच्चस्तरीय उपचार हुने रहेछ । अहिले म नयाँ जीवन पाएजस्तै महसुस गरिरहेकी छु ।”
यो सफल कलेजो प्रत्यारोपण प्रा. डा. उमिद कुमार श्रेष्ठको समग्र नेतृत्व तथा प्रमुख लिभर ट्रान्सप्लान्ट सर्जन डा. प्रदेज सापकोटाको शल्यक्रियात्मक नेतृत्वमा सम्पन्न भएको हो । शल्यक्रियामा डा. सञ्जय कुमार यादव, डा. रामबाबु शाह र डा. अनिशा तिवारीको समेत महत्वपूर्ण सहभागिता रहेको थियो ।
बिरामीको एनेस्थेसिया व्यवस्थापन तथा शल्यक्रियापछिको सघन उपचार एनेस्थेसिया तथा पेन म्यानेजमेन्टका विभागीय प्रमुख डा. अपूर्व शर्मा, डा. निराजन महासेठ तथा डा. साक्षी बिम्सराले सफलतापूर्वक सम्हाल्नुभएको थियो ।
प्रत्यारोपणपूर्वको विस्तृत मूल्याङ्कनमा ग्यास्ट्रोइन्टेरोलोजीस्ट डा. रबिन शर्मा र डा. शिवोम चौरसिया, रेडियोलोजी विभागका प्रमुख डा. रामकुमार घिमिरे, डा. भुवन कायस्थ, डा. विवेक नेपाल र डा. विनय यादव, तथा ल्याबोरेटोरी मेडिसिन तथा प्याथोलोजी विभागका प्रमुख डा. गोपी अर्यालको महत्वपूर्ण योगदान रहेको थियो ।
यसका साथै नर्सिङ, अपरेशन थिएटर, क्रिटिकल केयर, ब्लड बैंक, प्रयोगशाला, फार्मेसी तथा अन्य प्राविधिक एवं प्रशासनिक विभागका चिकित्सक, नर्स, प्राविधिक तथा स्वास्थ्यकर्मीहरूको समन्वित र समर्पित टोलीगत प्रयासले यो जटिल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो ।
प्रा. डा. श्रेष्ठका अनुसार, जन्डिस निको भएपनि कलेजोसम्बन्धी समस्या पूर्ण रूपमा अन्त्य भएको हुन्छ भन्ने आवश्यक छैन । कलेजोको दीर्घकालीन रोग बढ्दै जाँदा पेटमा पानी जम्ने, मुख वा दिसाबाट रगत बग्ने, शरीर सुन्निने, अत्यधिक थकान हुनेजस्ता लक्षण देखिन सक्छन् । यस्ता लक्षण देखिएमा समयमै विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ । कलेजो पूर्ण रूपमा बिग्रिएको अवस्थामा लिभर ट्रान्सप्लान्ट नै जीवन बचाउने प्रभावकारी उपचार बन्न सक्छ ।
नेपाल मेडिसिटीमा उपलब्ध अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञहरू र बहुविषयगत टोलीको समन्वयले नेपालमै विश्वस्तरीय कलेजो प्रत्यारोपण सेवा उपलब्ध गराइन्छ ।
प्रतिक्रिया