काठमाडौं - संसदमा सांसदहरुले जति प्रश्न उठाए पनि मन्त्रीहरुले जवाफ नदिने कुरा सामान्य जस्तै बनिरहेकोबेला सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन गरेका छन् ।
सभाको आकस्मिक र शून्य समयमा सांसदहरुले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहेको भन्दै सभामुख अर्यालले सरकारका नाममा निर्देश गरेका हुन् ।
उनले भने, ‘माननीय सदस्यहरूद्धारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सन्दर्भमा जवाफ दिन साथै देशका बिभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न, विपद् व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु ।’
सोमबार बसेको प्रतिनिधिसभामा सांसदहरूले कर्णालीमा हालै भएको सवारी दुर्घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । सरकारले समयमै उद्धार नगरेको भनेर आलोचना गरेका थिए । यो विषयमा सत्तारुढ दल रास्वपाका सांसद रमेश प्रसाईंले समेत गृहमन्त्रीले जवाफ दिनुपर्ने माग उठाएका थिए ।
‘हालसालै जुन दुर्घटना कर्णाली राजमार्गम भयो । सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन ? के मान्छे भिरमा अड्किएर हार गुहार गरेको र विपक्षी मित्रहरूले भने जस्तै लापरबाही भएको साँचो हो ?’, उनले भने ।
यो विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने उनको माग थियो । उनले भनेका थिए, ‘भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटना दोहोरिन नदिन सरकारसँग दीर्घकालीन योजनाहरू के–के छन् रु गृहमन्त्रीले यो रोस्ट्रममा उभिएर उत्तर दिनैपर्छ ।’
प्रतिपक्ष र सत्तापक्ष दुवैतिरबाट ध्यानाकर्षण भएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देश गरेका हुन् ।
प्रतिक्रिया