काठमाडौं - जलविद्युत् उत्पादनको इतिहास ११५ वर्ष पुरानो छ । वि.सं. १९६८ सालमा फर्पिङ जलविद्युत् आयोजना सञ्चालन भएपछि सुरु भएको नेपालको विद्युत् विस्तार पछिल्लो समय निरन्तर बढ्दै गएको छ। त्यसमा पनि बागमती प्रदेश देशको विद्युत् उत्पादन, प्रसारण र उपभोगका दृष्टिले सबैभन्दा अगाडि छ।
नेपालको कुल विद्युत् उत्पादन क्षमताको करिब ४५ प्रतिशत योगदान बागमती प्रदेशले मात्र दिएको बागमती प्रदेशको आर्थिक सर्वेक्षण २०८१÷८२ को रिपोर्टले देखाएको छ। बागमती प्रदेशमा नेपाल विद्युत् प्राधिकरण, सार्वजनिक सहायक कम्पनी तथा स्वतन्त्र विद्युत् उत्पादकमार्फत सञ्चालित ठूला–साना आयोजना सञ्चालनमा रहेका छन्।
प्रदेशको आर्थिक मामिला मन्त्रालयले गरेको आर्थिक सर्वेक्षण अनुसार २०८२ फागुनसम्म प्रदेशको स्थापित विद्युत् उत्पादन क्षमता करिब एक हजार ५८८ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका विद्युत् उत्पादन विभागका प्रमुख तर्कबहादुर थापाका अनुसार हाल देशभर चार हजार १४० मेगावाट विद्युत् उत्पादन भएको छ। सरकारले १२ हजार १३९ मेगावाटको पिपिए सम्पन्न गरेको छ।
विद्युत् पहुँचका दृष्टिले पनि बागमती प्रदेश देशभरिमा अगाडि छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार वैकल्पिक ऊर्जासहित प्रदेशका ९९।७५ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ। ९० प्रतिशत घरधुरीमा प्रसारण लाइन जडान भएको उल्लेख छ।
प्रतिक्रिया