काठमाडौं- आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा उल्लेख्य गिरावट आएको छ । १४ वटा निर्जीवन बीमा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा यी कम्पनीहरूको कुल खुद नाफा २ अर्ब ७९ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३९।२१ प्रतिशत कम हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यी १४ कम्पनीले कुल ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । एक वर्षमै कम्पनीहरूको समग्र नाफा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीले घटेको देखिन्छ ।
समीक्षा अवधिमा अधिकांश निर्जीवन बीमा कम्पनीको नाफा घट्दा ओरियन्टल इन्स्योरेन्सले भने उल्लेख्य सुधार गर्दै सर्वाधिक नाफा कमाउने कम्पनी बनेको छ । अघिल्लो आर्थिक वर्ष ११ करोड ७६ लाख रुपैयाँ खुद नोक्सानमा रहेको ओरियन्टलले आर्थिक वर्ष २०८२÷८३ मा ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यससँगै कम्पनीले घाटाबाट नाफामा उल्लेख्य ‘कमब्याक’ गरेको हो ।
ओरियन्टलपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले ३७ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ३२.७५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष सलिकोले ५५ करोड ८५ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको थियो ।
त्यस्तै, राष्ट्रिय बीमा कम्पनी ३४ करोड ४४ लाख रुपैयाँ खुद नाफासहित तेस्रो स्थानमा रहेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १९.४६ प्रतिशतले घटेको हो ।
हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३३ करोड ७८ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३२ करोड ६८ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले २८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यी कम्पनीहरूको नाफा क्रमशः ३६.५३ प्रतिशत, ५६.७५ प्रतिशत र ५०.१९ प्रतिशतले घटेको छ ।
अधिकांश कम्पनीको नाफा घटिरहेका बेला प्रभु इन्स्योरेन्सले भने सकारात्मक वृद्धि हासिल गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको २० करोड ५८ लाख रुपैयाँको तुलनामा नाफा १९.७१ प्रतिशतले बढाएर २४ करोड ६४ लाख रुपैयाँ पुर्याएको छ । समीक्षा अवधिमा नाफा वृद्धि गर्ने कम्पनीका रूपमा प्रभु इन्स्योरेन्स पनि परेको छ ।
प्रतिशतका आधारमा सबैभन्दा ठूलो गिरावट आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा देखिएको छ । अघिल्लो आर्थिक वर्ष ३६ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा आर्थिक वर्ष २०८२/८३ मा ९८.८९ प्रतिशतले घटेर ४० लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ ।
त्यसैगरी, शिखर इन्स्योरेन्सको खुद नाफा ७१.२२ प्रतिशतले घटेर १३ करोड रुपैयाँमा सीमित भएको छ । सानिमा जिआइसी इन्स्योरेन्सको नाफा ६१.३९ प्रतिशतले घटेर १३ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सको ५९.६९ प्रतिशतले घटेर १२ करोड ७५ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सको नाफा ६४.५५ प्रतिशतले घटेर ६ करोड ३० लाख रुपैयाँमा झरेको छ ।
एनएलजी इन्स्योरेन्सको नाफा पनि ६२.३१ प्रतिशतले घटेर ५ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा १४ निर्जीवन बीमा कम्पनीमध्ये नेसनल इन्स्योरेन्स मात्र खुद नोक्सानमा रहेको छ । अघिल्लो आर्थिक वर्ष १५ करोड ७ लाख रुपैयाँ घाटामा रहेको कम्पनीको नोक्सानी केही घटे पनि आर्थिक वर्ष २०८२/८३ मा १३ करोड १० लाख रुपैयाँ खुद नोक्सानमा रहेको छ ।
यसरी हेर्दा आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूको समग्र वित्तीय प्रदर्शन कमजोर देखिएको छ । केही कम्पनीले नाफा वृद्धि वा घाटाबाट नाफामा फर्किने सुधार देखाए पनि अधिकांश कम्पनीको खुद नाफा उल्लेख्य रूपमा घट्दा समग्र क्षेत्रको नाफामा ठूलो संकुचन आएको हो ।

प्रतिक्रिया