टिप्पणी

जेन–जी दिवसमा किन गएनन् प्रधानमन्त्री बालेन्द्र ?

बुधबार, २४ भदौ २०८३, ०९ : ३३

काठमाडौँ - एक वर्ष अघि जेन–जी आन्दोलनके अगुवाइ गरेका बालेन्द्र साह त्यही आन्दोलनको बलमा प्रधानमन्त्री भए । उक्त आन्दोलनको स्मरण गर्न गोली चलाइएको तत्कालीन संसद् भवन वीरेन्द्र अन्तर्राष्ट्रिय भवन परिसरमा ठीक एक वर्षपछि मंगलबार जेन–जी घाइते र सहिद परिवार भेला भए । उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको खोजी गरे । एक वर्षअघि उठाइएका सुशासनका आवाज सम्झिए, घाइते र सहिदप्रति भएको न्याय–अन्यायको लेखाजोखा गरे । 

आन्दोलनको बलमा निर्वाचित संसद र सरकार अपदस्थ भएर गत फागुन २१ मा निर्वाचन भएर आन्दोलनकारी शक्तिकै सरकार बनेको पनि छ महिना भैसकेको छ । उक्त आन्दोलनमा सहभागी भएकै कारण कतिपय युवा अझै जेलमै रहेको, घाइते र सहिद परिवारसँग गरिएको सम्झौता अनुरूप सरकारले काम नगरेको भेलामा सहभागी अधिकांशको गुनासो थियो । जेन–जी सहिद श्रेयम चौंलागाईंका बुबा गणेशले मञ्चबाटै सोधे, ‘के सहिद र सहिद परिवारप्रतिको जिम्मेवारी हामीले पूरा गरेका छौं त ? यो प्रश्न राज्यलाई मात्र होइन, हामी सबैलाई पनि हो ।’ अरू वक्ताले पनि उस्तै गुनासोका शृंखला प्रस्तुत गरिरहे । गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम उपस्थित कार्यक्रममा जेन–जी प्रतिनिधिहरूले प्रधानमन्त्री शाह उपस्थित नभएकामा गुनासो गरे । 

प्रधानमन्त्री बालेन किन उक्त समारोहमा गएनन् भन्ने प्रश्नले आन्द्योलनमा सहभागि भएर घाइते अपांग भएकाहरुलाई घोचिरहेको छ । त्यस्तै प्रश्न आन्दोलनमा सहिद भएका परिवारका सदस्यले पनि गरि नै रहेका छन् । तत्कालीन सरकारले बोल्न दिएन भनेर आन्दोलनमा आएका जेनजिहरु पनि अहिले यतिबेला सरकारको शैलि देखेर असन्तुष्ट रहेको बताइन्छ । त्यस्तै समुहको समेत प्रतिनिधित्व गर्दै गृहमन्त्री गुरुङ उपस्थित कार्यक्रममै सरकारको आलोचना गर्दा जेन–जी घाइते पवन खड्का प्रहरी नियन्त्रणमा पुगे । सरकारको कार्यशैली ठीक भएन भन्दै प्रश्न गरेका उनलाई कार्यक्रम स्थलबाट बाहिर निकाल्दा केहीबेर माहोल तनावपूर्ण भयो । जेलमा रहेका जेन–जी प्रदर्शनकारी विनोद कार्कीका बुबाले आफ्नो छोरालाई अहिलेको सरकारले पनि आतंककारीसरह व्यवहार गरेको बताए । 

जेन–जी सहिद परिवार समाजका उपाध्यक्ष वसन्तकिशोर श्रेष्ठले आन्दोलनमाथि दमन गर्नेहरूलाई कारबाही गर्न माग गरे । नयाँ कानुन बनाएर भए पनि उनीहरूलाई कारबाही गर्नुपर्ने उनको भनाइ थियो । ‘जसरी ताकीताकी छातीमा गोली हानियो, टाउकोमा गोली हानियो, तिनलाई कारबाही नगरेसम्म सहिद परिवारलाई राहत मिल्नेछैन भन्ने यहाँबाट उद्घोष गर्न चाहन्छु,’ श्रेष्ठले भने, ‘हिजोको अन्तरिम सरकारले गर्न सकेन किनभने जनमत थिएन । आजको सरकार दुईतिहाइको हो । आजको सरकारले कारबाही गर्नैपर्छ । दुईतिहाइले कुनै पनि कानुन संशोधन गर्न सक्छ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली एवं गृहमन्त्री रमेश लेखकलाई २१ फागुनको चुनावलगत्तै बनेको सरकारले पक्राउसमेत गरेको थियो । तर अदालतको आदेशमा छुटेपछि मुद्दा दर्ता गरिएको छैन । यही विषयलाई लिएर एकपछि अर्का वक्ताले प्रश्न उठाइरहँदा मञ्चमा रहेका गृहमन्त्री गुरुङ र कानुनमन्त्री गौतमले चुपचाप सुनिरहे । घाइते जेन–जी नेपालका अध्यक्ष बादल राईले निःशुल्क उपचार गर्ने भनिए पनि हुन नसकेको बताए । ‘यो सिस्टमले साँच्चिकै काम दिइरहेको छ त ? घाइतेलाई विदेश लगेर उपचार गर्ने कुरा त भइरहेको छ तर नीतिले दिइरहेको छैन रु यो सरकारलाई म भन्न चाहन्छु अध्यादेश केका लागि बनेका, त्यो घाइतेको उपचार गर्नका लागि होइन ?,’ उनले भने । 

घाइतेका प्रतिनिधि प्रतिश श्रेष्ठले भने, ‘सरकार आज जुन कुर्सीमा बसिरहेको छ, त्यो कुर्सी हाम्रो रगत, पसिना र बलिदानको नतिजा हो । हामीले राज्यको ढोका ढक्ढक्यायौं र आज त्यसै कारणले सरकारका पदाधिकारी आफ्नो पदमा छन् । हामीलाई बिर्सिनु भनेको आफ्नै जरा काट्नुजस्तै हो ।’ 

घाइतेलाई विदेशमा लगेर उपचार गराउनुपर्ने तथा सहिद परिवारको गाँस, बास र रोजगारीलगायत व्यवस्थापन गर्नुपर्ने माग बारम्बार उठेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभा आफ्नो पक्षको नभएकाले नसकिएको बताइन् । ‘सरकारमा रहँदै गर्दा त्यति सहज पनि भइरहेको छैन, जति यहाँहरूले प्रतिनिधिसभामा सिंगै नम्बर छ त तपाईंहरूसँग भनिरहनुभएको छ,’ उनले भनिन्, ‘प्रतिनिधिसभामा त करिब दुईतिहाइ छ, एउटा कानुन पास गर्न पुग्ने संख्या छ तर प्रतिनिधिसभाबाट राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभामा पनि प्रतिनिधिसभाबाट पारित भएको कुरा पूरा हुनुपर्छ । राष्ट्रिय सभाबाट पारित भइसकेपछि अनि राष्ट्रपतिकहाँ गइसकेपछि बल्ल त्यसले कानुनको रूप लिन्छ । मैले यहाँहरूलाई हामीसँग के छ, के छैन भन्दिनँ । कसले सहयोग गर्नुभएको छैन, यो तपाईंहरूले मूल्यांकन गरिरहनुभएको होला ।’ 

आगामी दिनमा युवाका माग आफूले पूरा गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता थियो । उनले भने, ‘जबसम्म प्रधानमन्त्री वालेन्द्र शाह, हाम्रा पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेन–जीको आसलाई मर्न दिनुहुन्न, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु ।’

कार्यक्रममा गोल्यान ग्रुपका अध्यक्षलाई समेत बोल्न दिइयो तर घाइते जेनजिले बोल्न खोज्दा पक्राउ गरिएको घटनाले सरकारको मनसाय ठिक नभएको भनेर तीब्र आलोचना भएको छ । मन्त्री गुरुङले  ‘पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेको देख्दाखेरि अचम्म लाग्छ,’ भन्दै भाषण गरे पनि अहिलेको सरकार आफै नसुध्रिएको त्यहाँ उपस्थित सहभागिहरुको गुनासो थियो । जेन–जी र सहिद परिवारका सदस्यले असन्तुष्टि पोखिरहेकै बेला गृहमन्त्री बाहिरिएका थिए ।

बुधबार, २४ भदौ २०८३, ०९ : ३३

प्रतिक्रिया