अमेरिका र क्यानडाबीच बढ्दो व्यापारिक तनावबीच अमेरिकाले क्यानडाबाट आयात हुने केही दुग्धजन्य पदार्थ, अधिकांश मदिराजन्य पेय पदार्थ तथा मोटरसाइकलमा रोक लगाउने भएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालयले मंगलबार यस्तो जानकारी दिनुभएको हो । नयाँ प्रतिबन्ध सेप्टेम्बर २९ देखि लागू हुने जनाइएको छ ।
यसअघि क्यानडाले अमेरिकाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा मंगलबारदेखि जवाफी कर लागू गरेको थियो । अमेरिकाले क्यानडाली वस्तुमा कर वृद्धि गरेपछि क्यानडाले यस्तो कदम चालेको हो । दुई देशबीचको व्यापारसम्बन्धी वार्ता गत महिना निष्कर्षविहीन भएपछि तनाव थप बढेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाली वस्तुलाई ठूला तथा दीर्घकालीन अमेरिकी सरकारी खरिद सम्झौताबाट समेत बाहिर राख्ने निर्णय गर्नुभएको हो । क्यानडाले अमेरिकी वस्तुका लागि “पूर्ण र न्यायोचित पारस्परिकता” सुनिश्चित नगरेसम्म क्यानडाली उत्पादनलाई त्यस्ता सरकारी सम्झौतामा अयोग्य ठहर गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिइएको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देशको रणनीति क्यानडालाई आर्थिक रूपमा अझ आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “कुनै पनि देशले हामीलाई आफ्नो नियन्त्रणमा राख्न नसक्ने अवस्था सुनिश्चित गर्नु र हामीले आफ्नो इच्छाअनुसार जीवनयापन गर्न सक्ने वातावरण बनाउनु हाम्रो उद्देश्य हो ।”
अमेरिकाले अगस्ट २२ मा क्यानडाबाट आयात हुने करिब पाँच प्रतिशत वस्तुमा ५० प्रतिशतसम्मको अतिरिक्त कर लगाएको थियो । अमेरिकी दुग्ध, मदिरा तथा सवारीसाधन उद्योगलाई क्यानडाले अनुचित व्यवहार गरेको आरोप लगाउँदै अमेरिकाले यस्तो कदम चालेको थियो ।
अमेरिका र क्यानडाबीच लामो समयदेखि व्यापारसम्बन्धी मतभेद रहँदै आएका छन् । विशेषगरी क्यानडाको संरक्षित दुग्ध बजार र काठ उत्पादकलाई दिइने सरकारी सहयोगलाई लिएर दुई देशबीच विवाद हुँदै आएको छ । यद्यपि, दुवै देश लामो समयदेखि घनिष्ठ मित्र तथा बलिया साझेदारका रूपमा रहँदै आएका थिए ।
राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिका–क्यानडा सम्बन्ध भने तीव्र रूपमा बिग्रिएको छ । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने विषयमा समेत पटक–पटक विवादास्पद अभिव्यक्ति दिँदै आउनुभएको छ ।
क्यानडाका प्रधानमन्त्री कार्नीले गत वर्ष राजनीतिक सफलता हासिल गर्दै ट्रम्पको दबाबका सामु क्यानडाको हितको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
दुई देशबीच बढ्दो व्यापारिक टकरावले दशकौँदेखि कायम रहेको घनिष्ठ सम्बन्धमा समेत गम्भीर असर पार्ने चिन्ता बढेको छ ।
रासस
प्रतिक्रिया