श्रीलङ्काको अर्थतन्त्रमा सुधार, दोस्रो त्रैमासिकमा ४.२ प्रतिशत वृद्धि

बुधबार, ३१ भदौ २०८३, १५ : ३४

श्रीलंकाको अर्थतन्त्र सन् २०२६ को दोस्रो त्रैमासिकमा वार्षिक आधारमा ४.२ प्रतिशतले वृद्धि भएको छ । उद्योग क्षेत्रमा देखिएको बलियो गतिविधिले समग्र आर्थिक वृद्धिलाई टेवा दिएको भए पनि कृषि क्षेत्र भने संकुचित भएको श्रीलंकाको जनगणना तथा तथ्यांक विभागले सार्वजनिक गरेको आधिकारिक तथ्यांकमा उल्लेख छ ।

चालू मूल्यमा श्रीलंकाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ११.३ प्रतिशतले बढेर ८.२५ ट्रिलियन श्रीलंकाली रुपैयाँ पुगेको छ । सन् २०२५ को सोही अवधिमा जीडीपी ७.४१ ट्रिलियन रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा दोस्रो त्रैमासिकको जीडीपी करिब २५.०९ अर्ब डलर बराबर रहेको छ ।

तीन प्रमुख आर्थिक क्षेत्रमध्ये उद्योग क्षेत्रमा सबैभन्दा बढी वृद्धि देखिएको छ । उद्योग क्षेत्र सन् २०२६ को दोस्रो त्रैमासिकमा ७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो क्षेत्र ५.७ प्रतिशतले वृद्धि भएको थियो ।

उद्योगअन्तर्गत निर्माण क्षेत्र १३.९ प्रतिशतले विस्तार भएको छ भने खानी तथा उत्खनन क्षेत्र १७.४ प्रतिशतले बढेको छ । उत्पादनमूलक क्षेत्रमा पनि ३.२ प्रतिशतको वृद्धि भएको छ । काठजन्य सामग्री, गैर–धातु खनिज उत्पादन, फर्निचर, मेसिनरी तथा उपकरण र धातुजन्य उत्पादनमा भएको वृद्धि उत्पादन क्षेत्रमा देखिएको समग्र विस्तारको प्रमुख आधार बनेका छन् ।

सेवा क्षेत्र भने २.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा सेवा क्षेत्र ४ प्रतिशतले विस्तार भएको थियो। सूचना प्रविधिसम्बन्धी प्रोग्रामिङ तथा अन्य गतिविधि १० प्रतिशतले बढेका छन् । बीमा तथा पेन्सनसम्बन्धी गतिविधि ८ प्रतिशत र वित्तीय सेवा ७।७ प्रतिशतले वृद्धि भएका छन् । दूरसञ्चार क्षेत्रमा ४.८ प्रतिशत तथा आवास, खाद्य तथा पेय पदार्थसम्बन्धी सेवामा २.९ प्रतिशत वृद्धि भएको छ ।

यस अवधिमा कृषि क्षेत्र भने २.३ प्रतिशतले संकुचित भएको छ । सन् २०२५ को दोस्रो त्रैमासिकमा कृषि क्षेत्र २.५ प्रतिशतले बढेको थियो । यस वर्षको गिरावट ताजा पानीमा गरिने माछा मार्ने तथा जलकृषि, धान खेती, उखु तथा सुर्ती उत्पादन, समुद्री माछा मार्ने तथा जलकृषि, रबर तथा चिया उत्पादनलगायतका गतिविधिमा आएको कमीका कारण भएको तथ्यांक विभागले जनाएको छ ।

चालू मूल्यका आधारमा श्रीलंकाको कुल जीडीपीमा सेवा क्षेत्रको योगदान ५२.७ प्रतिशत रहेको छ । उद्योग क्षेत्रको हिस्सा २५.९ प्रतिशत तथा कृषि क्षेत्रको हिस्सा ८.४ प्रतिशत रहेको छ ।

तथ्यांक विभागका अनुसार दोस्रो त्रैमासिकमा मध्यपूर्वमा बढ्दो तनावसँग जोडिएको अनिश्चितता, कच्चा तेलको आपूर्तिसम्बन्धी चिन्ता तथा पर्यटन क्षेत्रमा देखिएको कमजोर प्रदर्शनले अर्थतन्त्रमा प्रभाव पारेको थियो ।

यद्यपि, आयातमा भएको वृद्धिले औद्योगिक गतिविधिका लागि आवश्यक कच्चा पदार्थ तथा मेसिनरीको उपलब्धता सहज बनाएको विभागले जनाएको छ । यसले आयातसँग सम्बन्धित कर राजस्वमा समेत वृद्धि गर्न योगदान पुर्‍याएको थियो ।
रासस

बुधबार, ३१ भदौ २०८३, १५ : ३४

प्रतिक्रिया