काठमाडौं- नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको जहाज धावनमार्गमै दुर्घटनामा परेको छ।
आज बिहान करिब ८ बजेर २५ मिनेटमा जुफाल पुगेको जहाजको पछाडिको दायाँतर्फको टायर फुस्किएपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिल गिरीका अनुसार जहाजमा सवार १३ जना यात्रु सबै सकुशल छन्। जहाजको कलसाइन नाइ–एन–एजेएच रहेको थियो। जहाजमा सात जना विदेशी नागरिकसमेत सवार थिए।
जहाज धावनमार्गमै रोकिएपछि जुफाल विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ। धावनमार्ग मर्मत तथा जहाज हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।
जहाज धावनमार्गबाट नहटेसम्म अन्य विमानले अवतरण गर्न नसक्ने भएकाले जुफालको हवाई सेवा अवरुद्ध भएको छ।
प्रतिक्रिया