काठमाडौं– अविरल वर्षाका कारण जमिन गलेपछि ललितपुर महानगरपालिका–२४ धापाखेलमा सोमबार बिहान साढे दुई तले पक्की घर भत्किएर ढलेको छ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रका अनुसार स्थानीय सोवितकुमार थापाको घर बिहान करिब ६ बजेर ३५ मिनेटमा भत्किएको हो। भिरालो जमिनमा बनेको घर निरन्तरको वर्षाका कारण मुनिको माटो गलेर जगसहित खसेको प्रहरीले जनाएको छ।
घर जोखिममा रहेको पहिचान भएपछि प्रहरी र स्थानीय प्रशासनले आइतबार नै घर खाली गराएका थिए। त्यसका कारण घरमा बस्दै आएका थापासहित तीन जनाको परिवार सुरक्षित रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।
घर ढलेपछि त्यसको मुनि रहेको प्राकृतिक खोल्सोसमेत थुनिएको छ। थप जोखिम हुन नदिन प्रहरी टोली घटनास्थलमा पुगेर खोल्सो खुलाउने तथा घरबाट खसेको गेग्रान पन्छाउने काम गरिरहेको छ।
उपत्यकामा केही दिनदेखि निरन्तर वर्षा भइरहेकाले ढल, खोला किनार र भिरालो जमिन आसपासका बस्तीमा जोखिम बढेको छ। प्रहरीले पहिरो तथा भिरालो क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र जोखिमको संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।
प्रतिक्रिया