पूर्वप्रधानन्यायाधीश राणाले मागे आफ्नो र परिवारको सुरक्षा

सोमबार, १२ असोज २०८३, १३ : २३

काठमाडौं- पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो तथा परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन प्रहरीसमक्ष निवेदन दिएका छन्।

राणाका छोरा सचिन्द्र शमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिइएको हो।

निवेदनमा पछिल्लो समय देशको अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासँग सम्बन्धित विषयका कारण आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गरिएको छ।

त्यस्तै, विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा गरेका न्यायिक निर्णयका कारण आफूलाई थप असुरक्षा महसुस भएको राणाले निवेदनमा उल्लेख गरेका छन्।

राणाले आफू र परिवारको सुरक्षालाई ध्यानमा राख्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन प्रहरीसमक्ष अनुरोध गरेका छन्। 

प्रहरीले जबरामाथि ‘सुरक्षा थ्रेट’को सूचना पाएको भन्दै शनिबार मध्यरात नियन्त्रणमा लिएर आइतबार अपराह्न छाडेको थियो ।

सोमबार, १२ असोज २०८३, १३ : २३

प्रतिक्रिया