वर्षा रोकिएसँगै प्रमुख राजमार्ग खुलाउने तयारी, आज दिउँसोसम्म यातायात सञ्चालन गर्ने लक्ष्य

सोमबार, १२ असोज २०८३, १२ : १५

काठमाडौं- अविरल वर्षा रोकिएसँगै बाढीपहिरोका कारण अवरुद्ध प्रमुख राजमार्ग खुलाउने तयारी तीव्र पारिएको छ। पृथ्वी राजमार्गसहित विभिन्न सडकमा पहिरो पन्छाउने तथा डाइभर्सन निर्माणको काम अघि बढाइएको छ।

बुधबारदेखि लगातार परेको वर्षाका कारण राजधानीको लाइफलाइन मानिने पृथ्वी राजमार्ग, बीपी राजमार्गसहित देशभरका विभिन्न सडकखण्ड अवरुद्ध भएका थिए। आइतबारदेखि वर्षा कम भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड खुलाएर पोखरातर्फ जाने सवारीसाधन सञ्चालनमा ल्याइएको थियो।

मुग्लिन–काठमाडौं सडकखण्डका अधिकांश स्थानमा पहिरो पन्छाइए पनि केही ठाउँमा सडक एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेको थियो। आइतबार साँझ बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारामा ठूलो ढुंगासहित पुनः पहिरो खसेपछि भने सडक दुवैतर्फ अवरुद्ध भएको छ।

प्रहरीका अनुसार रातिको समयमा पहिरो हटाउन सम्भव नभएकाले सोमबार बिहानैदेखि सडक सफाइको काम सुरु गरिनेछ। पहिरो पन्छाएर काठमाडौं जोड्ने प्रमुख राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडक खुलेपछि कृष्णभीर क्षेत्रको अवस्थासमेत हेरेर सवारीसाधन सञ्चालन गर्ने वा नगर्ने निर्णय गरिने प्रहरीले जनाएको छ।

त्यस्तै, बाढीपहिरोका कारण कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोरअन्तर्गत मूलघाट–फिदिम, दाङ–सल्यान जोड्ने राप्ती राजमार्ग, कर्णाली राजमार्ग तथा भालुबाङ–चकचके–लिवाङ सडकखण्डका विभिन्न स्थानमा समेत यातायात अवरुद्ध भएको छ।

यी सडकमा पहिरो हटाउने तथा सम्भव भएका स्थानमा डाइभर्सन निर्माण गरेर सवारी आवागमन सुचारु गर्ने प्रयास भइरहेको छ। सम्बन्धित निकायले प्रमुख सडकहरू आज दिउँसोसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखेर काम अघि बढाएको जनाएको छ।

सोमबार, १२ असोज २०८३, १२ : १५

प्रतिक्रिया