काठमाडौं– बहुचर्चित ‘क्यान्डीम्यान’ ट्रेडमार्क विवादमा सर्वोच्च अदालतले नयाँ नजिर स्थापित गर्दै नेपाली उद्योग सुजल फुड्स प्रालिको नाममा रहेको ट्रेडमार्क दर्ता खारेज गरिदिएको छ।
सर्वोच्च अदालतले भारतको बहुराष्ट्रिय कम्पनी इन्डिया टोबाको लिमिटेड ९आईटीसी० को ‘क्यान्डीम्यान कोकोलेयर’ ट्रेडमार्कको दर्तालाई वैधानिकता दिँदै उद्योग विभाग र उच्च अदालत पाटनबाट यसअघि भएका निर्णय बदर गरेको हो।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले गरेको फैसलाले नेपालको बौद्धिक सम्पत्ति कानुनमा सुपरिचित ट्रेडमार्क, सीमातीत ख्याति तथा बदनियतपूर्ण दर्तासम्बन्धी विषयमा महत्वपूर्ण व्याख्या गरेको छ। सर्वोच्चले २०८१ असार २४ गते गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो।
फैसलाअनुसार आईटीसी लिमिटेडले सन् २००१ अर्थात् विसं २०५८ मा भारतमा ‘क्यान्डीम्यान’ ट्रेडमार्क दर्ता गरेको थियो। कम्पनीले सन् २००२ देखि विभिन्न टेलिभिजन च्यानलमार्फत ‘क्यान्डीम्यान’ ब्रान्डको प्रचारप्रसार तथा उत्पादन बिक्री सुरु गरेको थियो।
यता नेपालमा भने विसं २०५९ मा लर्ड शिवा फुड एन्ड कन्फेक्सनरीका नाममा ‘क्यान्डीम्यान’ ट्रेडमार्क दर्ता भएको थियो। उक्त ट्रेडमार्क विभिन्न प्रक्रियाबाट नामसारी हुँदै विसं २०६९ मा सुजल फुड्स प्रालिको स्वामित्वमा पुगेको थियो।
यसरी एउटै वा मिल्दोजुल्दो ट्रेडमार्कको स्वामित्वलाई लिएर भारतीय कम्पनी आईटीसी र नेपाली कम्पनी सुजल फुड्सबीच लामो समयदेखि विवाद हुँदै आएको थियो। सर्वोच्चको पछिल्लो फैसलासँगै उक्त विवादमा आईटीसीको दाबीलाई वैधानिकता प्राप्त भएको छ।
प्रतिक्रिया