काठमाडौँ । संसारकै विकसित मुलुकको श्रेणीमा पर्ने जापान पनि महंगी र मूल्यवृद्धिको चपेटामा परेको छ । जापानमा अक्टोबर महिनादेखि ३ हजार १५३ भन्दा बढी खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि हुने भएको छ । कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र कमजोर जापानी येनका कारण उत्पादक कम्पनीहरूले लागतको भार उपभोक्तामाथि सार्न बाध्य भएपछि मूल्यवृद्धि थपिएको हो ।
अनुसन्धान कम्पनी ‘तेइकोकु डाटा बैंक’ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सेप्टेम्बर महिनामा ४,९६५ वस्तुको मूल्य बढेपछि अक्टोबरमा पनि मूल्यवृद्धिको अर्को लहर देखिएको छ ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण कच्चा तेल र नाफ्थाको मूल्यमा भएको वृद्धिले प्याकेजिङ सामग्रीको लागत बढाएको छ, जसले सिधै खाद्यवस्तुको बजार मूल्यलाई प्रभावित पारेको छ ।
यस वर्षको तथ्यांक हेर्ने हो भने सन् २०२६ मा हालसम्म २० हजार १८७ वटा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि भइसकेको वा हुने क्रममा रहेको छ । लगातार दोस्रो वर्ष मूल्यवृद्धि हुने वस्तुको संख्या २० हजार नाघ्नुले जापानी उपभोक्ताको जीवनयापनमा परेको प्रभावलाई स्पष्ट पारेको छ ।
प्रतिक्रिया