काठमाडौं - चर्चित इलामको कन्यामस्थित ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको स्थानीयको गुनासो छ । तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको ऐतिहासिक शिलालेख फुटेर जीर्ण बनेपछि टुक्राटुक्रा अवस्थामा रहेको र अहिले टालटुल गरेर राखिएको छ ।
कन्याम चिया बगानका स्टाफ होमप्रसाद रिजालका अनुसार राजाको पालामा राखिएको उक्त शिलालेख समय क्रममा फुटेर टुक्राटुक्रा भएको हो । फुटेका टुक्राकम्पनी परिसरमै यताउता छरिएर रहेको अवस्थामा पछि संकलन गरी जोडजाड गरेर पुनः खडा गरिएको छ ।
“वीरेन्द्रले उद्घाटन गरेको शिलालेख थियो । पछि फुटेर गयो। त्यसका टुक्राहरू यताउता छरिएर रहेका रहेछन्,” रिजालले भने, “पछि कम्पनीकै तर्फबाट टुक्राहरू ल्याएर जोडजाड गरी राखिएको छ ।”
तत्कालीन युवराज वीरेन्द्र र युवराज्ञी ऐश्वर्यले विसं २०२८ सालमा वृक्षरोपण गरेको पहिलो चियाको बोट ‘मदर बुश’ समेत काटेर मासिएको बताए ।
उनले ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय सरकार र चिया बगान कम्पनी दुवैको समन्वय आवश्यक रहेको बताए । कन्यामको पर्यटन प्रवर्द्धनसँगै यहाँ रहेका ऐतिहासिक संरचना तथा शिलालेखको संरक्षणमा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया