काठमाडौं कर्णाली राजमार्गमा काम नगर्ने छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।सडक डिभिजन कार्यालय जुम्लासँग आर्थिक वर्ष २०७५ देखि २०८० सम्म निर्माण सम्झौता गरेका कम्पनीले समयमै काम नगरेपछि कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँमा सिफारिस गरिएको थियो । सोही सिफारिसका आधारमा छवटा निर्माण कम्पनी कालोसूचीमा परेका सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम गरिएको सिफारिसअनुसार विनम्र निर्माण सेवा सुर्खेतलाई तीन वर्ष, ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई दुई वर्ष र अविनाश निर्माण सेवा छायानाथ मुगुलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त सूचना शनिबार सार्वजनिक गरिएको प्रमुख महताराले बताए ।यसैगरी शङ्करमाली निर्माण सेवा काठमाडौँ र मान शाही निर्माण सेवा कालीकोटलाई तीन–तीन वर्ष तथा कश्यप निर्माण सेवा काठमाडौँलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको सूचना बुधबार सार्वजनिक भएको सडक डिभिजन कार्यालयका सबइन्जिनियर वीरेन्द्र रावलले बताए ।
शङ्करमाली निर्माण सेवाले नाग्म–गमगडी सडक र कश्यप निर्माण सेवाले जुम्ला–मनाङ–मुस्ताङ सडक निर्माणको सम्झौताअनुसार काम गर्न नसकेपछि कालोसूचीमा परेका हुन् । बाँकी निर्माण कम्पनी कर्णाली राजमार्गअन्तर्गत कालीकोट क्षेत्रमा सडक स्तरोन्नति तथा निर्माणको ठेक्का समयमै सम्पन्न नगरेपछि कालोसूचीमा परेका सबइन्जिनियर रावलले बताए ।कालोसूचीमा परेका निर्माण कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
जुम्लामा पछिल्लो समय उद्योग खारेजी गर्नेको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०८२र८३ मा १८० उद्योग खारेज भएका छन् भने १८८ उद्योग दर्ता र ३३४ उद्योग नवीकरण भएका उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख टङ्कप्रसाद न्यौपानेले बताए ।यसैगरी वाणिज्यतर्फ ६१ वटा उद्योग दर्ता, ५८ वटा नवीकरण र ५२ वटा खारेज भएका छन् । उक्त आर्थिक वर्षमा विभिन्न शीर्षकमा करिब रु १६ लाख २५ हजार राजस्व सङ्कलन भएको प्रमुख न्यौपानेले बताए ।
चालु आर्थिक वर्षको भदौसम्म ४३ वटा नयाँ उद्योग दर्ता भएका छन् । सो अवधिमा ११९ वटा उद्योग नवीकरण र पाँचवटा खारेज भएका छन् । वाणिज्यतर्फ ११ वटा उद्योग दर्ता भएका प्रमुख न्यौपानेले बताए ।पछिल्लो समय जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या घटेको छ भने उद्योग खारेजी गर्नेको सङ्ख्या बढ्दो क्रममा छ । विगत चार वर्षदेखि कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या लगातार घट्दै गएको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । दर्ता भएका उद्योगमा उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण तथा सूचना तथा सञ्चार प्रविधितर्फका उद्योग रहेका छन् ।
प्रतिक्रिया