काठमाडौं– सुदूरपश्चिम प्रदेशको धनगढीमा आईबीएम टेकएक्स (IBM TechX) कार्यक्रम सम्पन्न भएको छ। दक्षिण एसियाली क्षेत्रको साइबर सुरक्षा तथा प्रविधि कम्पनी वन कभर प्राइभेट लिमिटेडको सहकार्य र अग्रसरतामा गत अक्टोबर १, २०२६ मा आयोजित कार्यक्रममा डिजिटल सुशासन, प्रविधिको स्वचालन र प्राविधिक सीप विकासमा जोड दिइएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, सूचना प्रविधि क्षेत्रका विज्ञ, शैक्षिक क्षेत्रका प्रतिनिधि, साइबर सुरक्षा विशेषज्ञ तथा निजी क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी, उपाध्यक्ष हर्क सेटी, केन्द्रीय सदस्य ओमकार श्रेष्ठ तथा क्यान महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष धिरेन बोगटीको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, पीसीपीएसकी प्रमुख वृद्धि अधिकृत कृपा श्रेष्ठ, अधिकारी ऋषिका दाहाल तथा वन कभर प्राइभेट लिमिटेडका कृत्रिम बौद्धिकता परामर्शदाता बाबुराम श्रेष्ठ सहभागी थिए।
कार्यक्रमले सुदूरपश्चिम प्रदेशमा डिजिटल सुशासनलाई प्रवर्द्धन गर्दै संस्थागत स्वचालन, साइबर सुरक्षा र प्राविधिक जनशक्ति विकासलाई तीव्रता दिने उद्देश्य राखेको आयोजकले जनाएको छ।
क्षेत्रीय व्यवसायहरूले कृत्रिम बौद्धिकता, क्लाउड प्रविधि र स्वचालनलाई तीव्र रूपमा अपनाइरहेको अवस्थामा डिजिटल सम्पत्तिको सुरक्षा अपरिहार्य बन्दै गएको कार्यक्रममा औंल्याइएको थियो। यसका लागि संस्थागत सञ्जाललाई सुरक्षित राख्न साइबर सुरक्षा तथा सूचना प्रविधि सुरक्षासम्बन्धी सेवाको महत्त्व बढ्दै गएकोमा समेत जोड दिइएको थियो।
कार्यक्रमले स्थानीय जनशक्तिलाई अन्तर्राष्ट्रिय प्रविधि र अभ्याससँग जोड्दै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। आईबीएम टेकएक्सचेन्ज अटोमेसन युजर ग्रुप नेपाल तथा क्राइस्ट युनिभर्सिटीको आईबीएम इनोभेसन सेन्टरजस्ता पहलसँग सहकार्य र ज्ञान आदानप्रदान गर्दै प्रादेशिक प्रविधि क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्यसमेत राखिएको छ।
त्यस्तै, प्रविधि क्षेत्रमा करियरबाट केही समय टाढिएका जनशक्तिलाई पुनः रोजगारी तथा व्यावसायिक क्षेत्रमा जोड्ने आईबीएम टेक री–इन्ट्री कार्यक्रमजस्ता अवधारणाबाट प्रेरणा लिँदै सुदूरपश्चिममा दक्ष जनशक्ति विकास गर्ने सम्भावनासमेत कार्यक्रममा उजागर गरिएको थियो।
कार्यक्रमले सुदूरपश्चिम प्रदेशमा प्रविधिमैत्री वातावरण निर्माण, साइबर सुरक्षा सचेतना अभिवृद्धि तथा डिजिटल रूपान्तरणलाई संस्थागत गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया