काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि मतदान सुरु हुनेछ ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान गर्नेछन् । उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।
यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । तर भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टा पछि सारिएको निर्वाचन समितिले जनाएको छ । मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।
मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रियसभा गृहस्थित मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन् भने कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि खुलामञ्चमा मतदान केन्द्र ‘ख’ तोकिएको छ ।
त्यस्तै, गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हल, मधेस प्रदेशका प्रतिनिधिले तराई–मधेस हल तथा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले पहाड हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन समितिले प्रतिनिधिलाई मतदानस्थलमा प्रवेश गरेपछि आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ ।
मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने निर्वाचन समितिले जनाएको छ । मतदान प्रक्रिया पूरा भएपछि मतगणना सुरु गरिनेछ ।
मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । १५औँ महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।
प्रतिक्रिया