काठमाडौं- वडादशैंमा घर फर्किने यात्रुहरूका लागि सरकारले आज (शुक्रबार) देखि लामो दूरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेको छ।अग्रिम टिकट लिने आशामा सर्वसाधारणहरू बिहीबार रातिदेखि नै काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टर अगाडि लाइनमा बसेका छन्।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी तथा यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरूबीच असोज २० गते भएको बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ सुरु गर्ने निर्णय गरेको थियो।
विशेष गरी सुदूरपश्चिम, कर्णाली तथा मध्यपश्चिमका दूरदराजका जिल्ला जाने यात्रुहरू बिहीबार राति ९ बजेदेखि नै काउन्टर अगाडि लाइनमा बसेका छन्।
नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार यात्रुको चापलाई ध्यानमा राख्दै काउन्टर स्थलमा थप १५ वटा काउन्टर स्थापना गरिएको छ। टिकट काउन्टर आसपासमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने भीडभाड नियन्त्रण तथा सम्भावित ठगी रोक्न सादा पोसाकका प्रहरी टोलीसमेत परिचालन गरिएको छ।
यस पटक उपत्यकाबाट करिब १५ देखि २० लाख यात्रुहरू आफ्नो जन्मथलो फर्किने अनुमान गरिएको छ। यात्रुहरूले काउन्टरको सास्ती र भीडभाडबाट बच्न सम्भव भएसम्म अनलाइन टिकटिङ प्रणालीको प्रयोग गर्नु उपयुक्त हुनेछ।
भाडामा हुने ठगीबाट बच्न यातायात व्यवस्था विभागले तोकेको आधिकारिक भाडादर सूची हेरेर मात्र भुक्तानी गर्नुपर्नेछ भने काउन्टरका कर्मचारीको परिचयपत्र र आधिकारिक छाप भएको टिकट अनिवार्य लिनुपर्नेछ।
यात्रुको सुविधाका लागि नयाँ बसपार्क, कलंकी, कोटेश्वर र जडीबुटीलगायतका प्रमुख नाकाहरूमा नेपाल प्रहरी र यातायात व्यवस्था विभागले ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएका छन्। टिकट नपाएमा, बढी भाडा मागेमा वा अन्य कुनै समस्या परेमा यात्रुहरूले तत्काल ती सहायता कक्ष वा प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
प्रतिक्रिया